नयाँ युगको प्रभाव,पुरानो परम्परा सखाप



जनकपुरधाम : कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग
कौन तालपर गोरिया नाचे कौन तालपर हम
जोगीरा सररर…
मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरुका बिच उर्जाको सञ्चार गर्ने गर्दछ ।
किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबीर झोरी ?
रामजी के हाथ में कनक पिचकारी,
सियाजी के हाथ अबीर झोरी‘!! जोगिरा सररर..!!’
(कसको हातमा सुन जडित पिचकारी (लोला) छ र कसको हातमा अबीरको झोला ? रामजीको हातमा सुन जडित पिचकारी छ र सीताजीको हातमा अबीरको झोला) पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) अब मिथिलाञ्चलमा सुनिन छाडेका छन् ।

होली पर्व र संगीत बिच गहिरो सम्बन्ध हुन्छ । संगीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन । तर पश्चिमा संस्कृतिको प्रभावसँगै अहिले आएर यस्ता जोगिराहरु अब मिथिला क्षेत्रमा करिव करिव लोप नै भईसकेको छ । जोगिरा गाउने पुराना पुस्ताका व्यक्तिहरुको मृत्यु भएपश्चात नयाँ पुस्ताले यसबारे चासो राख्न छाडेपछि अब मिथिलामा जोगिराको डम्फू बज्न छाडेको हो ।
‘यसपालिको होली मुखमा आइसक्यो, न डम्फू बज्छ..न जोगिराका स्वर नै सुनिन्छन..!’ वर्षौंदेखि जोगिरा गाउँदै आएका महोत्तरीको भंगाहा नगरपालिका–४ का लाली महतोले भने,‘मेरा समूहका धेरै साथी मरे, कोही बुढा भएर थलिएका छन्, अझै गाउने त रउस छ, तर साथ दिने कोही छैनन् ।’ ंबसन्तपञ्चमीसँगै होली (फागु) पर्वको सन्देस छर्ने जोगिरा..(फागु गीत) अब सुनिन छाडेपछि धनुषा महोत्तरी सहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ ।

संस्कृतिविद डाक्टर सुरेन्द्र लाभले प्राचिन समयमा जोगिरा होली पर्वको दोश्रो स्वरुप रहेपनि अहिले आएर समाजमा सांस्कृतिक उत्खनन हुँदै गईरहेकोप्रति दुः ख व्यक्त गरेका छन् । उनले भने,‘अहिले जोगिरा पनि हराए,हालीको सबै रुप हराए । अब बाँकी छ त केवल अश्लिलता एवं अभद्रता ।’ सामाजिक सदभावको पर्वको रुपमा चिनिएको होली अब प्रतिशोधपूर्ण अबस्थामा परिणत भएको टिप्पणी गर्दै उनले समाजमा अब सामाजिक स्खलन हुँदै गईरहेकोप्रति दुःख समेत व्यक्त गरे । जोगिरा प्राचिन अबस्थामा उल्लासको एउटा फरक स्वरुप रहेको जिकिर गर्दे उनले जोगिरालाई कुण्ठित अभिव्यक्ति नमानी त्यो भगवानको भक्ति रहेको स्पष्ट पारे ।

तिथिमिति सम्झना नराख्नेका लागि पनि होली शुरु भएछ भन्ने सन्देश दिने मृदङ्ग, हारमोनियम र डम्फू (फागु गीतका वाद्यवादन) का तालमा सुनिने जोगिरा गीत गाइने परम्परा एक दशकयता सुन्न छाडिएको छ । आपसी सद्भाव, भ्रातृत्व र उमंगको प्रतीक मानिने फागु (होली) पर्वमा हास-परिहास, ठट्टा गरिनेबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रउसको संयुक्त प्रतिविम्ब हुने जोगिरा..सुन्न छाडिएपछि यो पर्व आएको छनक नै हुन छाडेको छ ।

गीतकार अशोक दत्तले सबभन्दा पहिले हरेक व्यक्तिले आफ्नो लोक परम्परा र लोक संस्कृतिको महत्व बुझ्नुपर्ने आबश्यकता रहेको बताए । जोगिरा धार्मिक एवं सांस्कृतिक प्रसंगसँग जोडिने भएकोले यसलाई जर्गेना गर्नुपर्ने दायित्व समेत हाम्रै रहेको उनको भनाई छ । वर्तमान समयमा विद्युतिय सञ्चारको प्रभाव र प्रत्येक व्यक्तिको कार्यव्यस्तताका कारण निसन्देह जोगिरा अहिले आएर लोपोन्मुख अबस्थामा पुगेको दत्तले जिकिर गरे । उनले भने,‘अहिले भौतिकवादी युगले गति समात्दै गईरहेको छ । जोगिराको सार्थकता सबैले बिर्सेका छन् । यस्तो अबस्थामा जोगिरालाई पूर्नउत्थान गर्न नयाँ पुस्ताको युवाहरुलाई अगाडी बढनुपर्ने आबश्यकता छ ।’
संस्कृतिको सम्झनामात्र नभई त्यसप्रतिको समर्पण भाव, भक्तिका लयमात्र नभई रतिराग, दुःख र जीवनका तिता अतित बिर्साउने रउस र अबीर एवं रङको महिमा एकसाथ सुन्न पाइने जोगिरा लोप हुँदै गएपछि होलीको रौनक पनि घटेको छ ।

‘कोन तालपर डम्फू बाजे,
कोन ताल मृदङ्ग,
कोन तालपर गोरिया नाचे,
कोन तालपर हम..!! जोगिरा सरररररररर..!!’
(डम्फू कुन तालमा बज्छ, मादल कुन तालमा बज्छ ? अनि गोरी कुन तालमा र म कुन तालमा नाच्छु ?) होलिया (फागु गीत गाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलिया बताउँछन् ।
‘हे डम्फाके चोट महलबीच पहुँचय,
सुतली गोरिया चहक् उठय.. अही फागुन में ! जोगिरा..सरररर !!
(जब डम्फूको आवाज घरभित्र पुग्दछ, सुतेकी नवयौवना जागिन्छ..फागुमा) ख्यालठट्टा गर्न मैथिल सामाजिक स्वीकृति पाएको नाताबीच (साली-भिनाजु, देवर-भाउजु, सोल्टा-सोल्टी) बीच जोगिरा गीतमार्फत हुने ठट्टाले दिने मनोरञ्जन र कोठाभित्र लुकेर बसेकी नवयौवनालाई शृङ्गारिक गीतका भावले फागु खेल्न आउन चुनौतीपूर्ण निम्ता दिने यस्ता स्वरहरु सुनिन छाडेपछि आफ्नै ठाउँ बिरानोजस्तो लाग्ने गरेको स्थानीयहरु बताउँछन् ।

सामाजिक छुवाछूत, उचोनिचो जात र भिन्नभिन्न धर्मसंस्कृतिप्रति परहेज गर्ने पनि एक अर्कोलाई अंकमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अंग जोगिरा लोप हुँदै गएर अब ‘डिस्को’ बज्न थालेपछि मैथिल मौलिकता हराउँदै गएकोप्रति मिथिला नाट्यकला परिषदका पूर्व अध्यक्ष सुनिल मल्लिकले चिन्ता व्यक्त गरे ।

‘कई हाथ के धोती पहिरेई, कई हाथ के लपेटा,
कई धार के पानी पिए, कई बाप के बेटा..! जोगिरा..सररर‘!!’
(कति हातको धोती लाउँछौँ ? तिमीले लाउने धोतीको कति हात लपेटा छ ? कतिवटा खोलाको पानी खाएका छौ, कतिवटा बाबुको छोरा हौ ?) एकपक्षले अर्कोपक्षलाई ‘कई बापके बेटा’ (कतिवटा बाबुको छोरा) भनेर गीतमार्फत नै सोधिने भाव होलीको जोगिराबाहेक अरु बेला कल्पना पनि सकिन्न ।

जोगिरामा कामोत्सव भाव, बीर रस, आफ्नो परम्परागत संस्कृतिप्रतिको गौरवबोध, अध्यात्मिक पक्ष र धार्मिक परम्पराप्रतिको समर्पण, माया प्रेम, ऊर्जा संस्कृतिको प्रचुरता, परम्पराको निरन्तरता र उमंग एकसाथ भेट्टाइने भाव हुने मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डाक्टर राजेन्द्रप्रसाद विमल बताउँछन् ।

राजनीतिक अधिकारका लागि मिथिला क्षेत्रमा नयाँ पुस्ताको आन्दोलनमा सहभागिता देखिएपनि संस्कृतिको जगेर्ना र संरक्षणमा भने खासै उत्साह नदेखिएको बुढापाकाले टिप्पणी गर्ने गरेका छन् । आउने दिनमा मैथिल युवाले यहाँको मौलिक संस्कृति जगेर्नामा ध्यान दिएमात्र मिथिला संस्कृति र सभ्यताको पहिचान झन चहकिलो हुँदै जाने संस्कृतिविद अयोध्यानाथ चौधरीले बताए ।

मिथिलाञ्चलमा बसन्तपञ्चमीदेखि होली गीत (जोगिरा) शुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भंगाहा नगरपालिका-९ कञ्चनवनमा यात्रीले एकापसमा रङ अबीर खेलेर होली पर्व मनाउन थालेका छन् । त्रेता युगमा रामसीता वनविहार गर्दै फागुन शुक्ल सप्तमीका दिन सो ठाउँ पुग्दा लुकामारी खेल्दै एकआपसमा रङ अबीर खेलेको सम्झनामा माध्यमिकी परिक्रमा यहाँ आइपुगेका दिन रङ अबीरको खेल्ने परम्परा बसेको छ ।

होली पर्वमा गाइने जोगिरामा अश्लिल गीतहरु समेत हुन्छन् । त्यस पछाडीको कारणले समेत ठूलो अर्थ राख्छ । संस्कृतिविद एवं साहित्यकार डा.राजेन्द्र विमलले अश्लिल गीतको माध्यमले मन भित्र रहेको कामवासना लाई बिर्सन पनि जोगिरा सहायक सिद्ध हुने गरेको बताए ।
तर केही वर्ष यता जोगिरा लोप हुँदै गईरहेको छ । मिथिलाको प्राचिन परम्पराहरु मध्ये जोगिरालाई बचाउनका लागि युवाहरुले नै भूमिका खेल्नु आवश्यक रहेको उनको भनाई छ ।

यो सबैका बिच लोप हुँदै गएको यस संस्कृतिलाई बचाउन विगत २५ वर्षदेखि मिथिला नाट्य कला परिषद् (मिनाप) ले प्रत्येक वर्ष होलीको समयमा दुई दिवसीय फागु गीत, डम्फा प्रतियोगिता र महामुर्ख सम्मेलन गरी संस्कृति जोगाउने प्रयत्न जारी राखेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्