गुलाफ बोक्ने सुन्दर रहरमा रमाउँदै दाजुभाइ



जनकपुरधाम :  हिजोआज एकाबिहान नियाज र जियाउद्दीन फरकफरक किसिमका गुलाफ फूलका विरूवा लिएर जनकपुरका सडकमा देखा पर्छन् । भारतको बिहारस्थित दरभंगाका यी दाजुभाइको उमेरमा करिब ५ वर्षको अन्तर छ । नियाद १५ वर्षका छन् भने जियाउद्दीन १० वर्षका भए । 

 

तर, दुवै बीच निकै कसिलो व्यवसायिक सम्बन्ध छ । दाजुभाइको साइनो अब व्यापारमा एकअर्कालाई सघाउने असल साथीका रूपमा परिणत भएको छ । उनीहरू जाडोयाम सुरु हुनासाथ अकर्षक र लोभलाग्दा गुलाफका बिरुवा लिएर जनकपुर आउने गर्छन्  । १५ दिनको जाडो बिदालाई उपयोग गर्न र बुबालाई सहयोग गर्न उनीहरू गुलाफका बिरुवा बिक्री गर्छन् ।  

 

उनीहरू तराईको कठ्यांग्रिँदो जाडोमा पनि जनकपुरका कुनाकाप्चामा गुलाफका बिरुवा बिक्री गर्न हिँड्छन् । दुवै दाजुभाइका टाउकामा प्लास्टिकको भाँडोभरि थरिथरिका गुलाफ हुन्छन् । यतिमात्र कहाँ हो र, नियाद र जियाउद्दीनको ग्राहक खोज्ने तरिका नै घतलाग्दो छ । उनको मन्त्रमुग्ध पार्ने बोल्ने शैलीमा ग्राहक झुम्ने गर्छन् ।

 

नियाद भन्छन, ‘अहिले स्कुलमा जाडो बिदा छ । त्यसैले म यो काम गर्छु र बुबालाई सहयोग हुन्छ । १० दिनमा २० हजार रुपैयाँबराबरको बिरुवा बिक्री भएको छ ।’ 

 

बिहारकै केउटीस्थित कन्या विद्यालयमा कक्षा चारमा अध्ययनरत जियाउद्दीनले भने, ‘रहिकामा हाम्रो आफ्नै अजन्ता नर्सरी छ । बुबा त्यतै बसेर गुलाफका बिरुवा उमार्नुहुन्छ ।’

 

दुवै दाजुभाइ बुबालाई सहयोग गर्न अझै केही दिन जनकपुरमा बस्नेछन् ।

प्रतिक्रिया दिनुहोस्