चैत महिनापछि सरकारले गति लिन्छ : रक्षामन्त्री पोखरेल



हेटौंडा : कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी चैत महिनापछि सरकारका कामले गति लिने बताएका छन् । चैतभित्र सरकारलाई चाहिने कानून बनिसक्ने भन्दै त्यसपछि गति लिने बताएका हुन् ।

 

हेटौंडामा बुधबार पत्रकारहरुले ‘सरकारले काम गर्न नसकेको जनगुनासो बारे के भन्नुहुन्छ ?’ भन्दै सोधेको प्रश्नको जवाफमा रक्षामन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

 

मन्त्री पोखरेलले भने, ‘आगमी चैत्रभित्र सरकारलाई चाहिने सबै कानून बन्छ, त्यसपछि सरकारको कामले गति लिन्छ ।’ पोखरेलले संवैधानिक र राजनीतिक परिवर्तन भए पनि त्यस अनुरुप कानूनी संरचना नहुँदा काम गर्न समस्या रहेको बताएका थिए ।

 

यस्तै उनले अनियमितता गर्नेहरुसँग सौदाबाजी नगर्ने जिकिर गरेका छन् । अनियमितता र कानूनविपरित भएका कुनै पनि कार्यका लागि सरकारले सौदाबाजी नगर्ने बताएका हुन् ।

 

वाइडबडी प्रकणमा संलग्नहरुबारे छानबिन भइरहेको भन्दै उनले उच्चस्तरीय आयोगले प्रतिवेदन दिएपछि थप कुरा गर्न सकिने बताए । ‘हामी प्रक्रियाभन्दा बहिर जाँदैनौं, प्रतिवेदन आएपछि सरकारले पोजिसन लिन्छ’, पोखरेलले भने । डा. गोविन्द केसीका सबै मागका विषयमा पनि प्रतिवेदन आइसकेको र सोही अनुसार काम हुने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्