महेन्द्र मोरङ क्याम्पसको ताला खुल्यो



विराटनगर : ३९ दिनदेखि कार्यकक्षभित्र बसेर काम गर्न नपाएका महेन्द्र मोरङ आदर्श क्याम्पसका प्रमुखले बुधबारबाट राहत महसुस गरेका छन् ।

 

विराटनगरस्थित यस क्याम्पसमा क्रियाशील धेरैवटा विद्यार्थी संगठनले विभिन्न माग राख्दै गत पुस १ बाट प्रमुख बाबुराम तिम्सिनाको कार्यकक्ष र लेखाशाखामा तालाबन्दी गर्दै आएका थिए ।

 

बुधबार दिउँसो प्रमुख तिम्सिना तथा विद्यार्थी संगठनबीच छात्रवृत्तिसम्बन्धी समस्या हलका लागि समिति बनाएर काम गर्ने सहमति बनेको छ । त्यसैगरी क्याम्पसको श्वेतपत्र एक महिनाभित्र सार्वजनिक गर्ने, पुस्तकालय तथा खानेपानी समस्या हल गर्नेलगायतका सहमति बनेको बताइएको छ ।

 

माग सम्बोधनसँगै तालाबन्दी खुलेको छ । क्याम्पस प्रमुख तिम्सिनाले भने, ‘विद्यार्थीसँग सहमति बनेको छ । अब क्याम्पसको कार्यले तीव्रता लिनेछ ।’ उनले विद्यार्थीसँग सहमति बनेसँगै काम गर्ने वातावरण बन्ने अपेक्षा गरे ।

 

त्यसैगरी गत वैशाखबाट क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका तिम्सिनाले हालसम्मको आर्थिक कारोबार सार्वजनिक गर्ने सहमति बनेको विद्यार्थी संगठनहरूले जनाएका छन् ।

 

एक महिनाभन्दा बढी समयको तालाबन्दीका कारण प्रशासनिक कार्य असहज बन्दै गएको थियो । यसबीच क्याम्पसमा कार्यरत २ सय ५० कर्मचारीको तलबसमेत रोक्का रहँदै आएको थियो । क्याम्पस प्रशासनले तलबका लागि मासिक ८८ लाख खर्च गर्दै आएको छ ।

 

क्याम्पस प्रमुखको कार्यशैलीप्रति नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी रुष्ट रहँदै आएका थिए । त्यसैगरी संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टीको विद्यार्थी संगठन पनि तालाबन्दीमा संलग्न थिए । यसअघि पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई क्याम्पसमा सम्मान गर्ने क्रममा भने आपसी सहमतिमा दुई दिनका लागि तालाबन्दी खुला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्