बस दुर्घटनामा २८ घाइते



बनेपा : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ९ शङ्खुमा आज दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा २८ यात्रु घाइते भएका छन् । 

 

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा पनौती नगरपालिका–९ का ५० वर्षीया शान्तादेवी लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । 

 

उहाँको टाउको र घाँटीमा चोट रहेको र बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शङ्खुबाट पनौतीतर्फ आउँदै गरेको बा२ख ५२१२ नंको यात्रुवाहक बस सडकबाट करीब २०० मिटर तल खसेको हो ।

 

सो दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको स्थानीय मेडिकलमा उपचारपश्चात् घर फर्किसकेका छन् भने बाँकीको धुलिखेल सामुदायिक अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । 

 

गिरीका अनुसार धुलिखेल सामुदायिक अस्पतालमा चार र शिरमेमोरियल अस्पतालमा आठ जनाको उपचार भइरहेको छ । अन्य घाइते उपचारपश्चात् घर फर्किसकेका छन् । बसमा ४० यात्रु सवार थिए । पानी परेकाले सडक छेउ भासिएर सडकबाट तल खसेर सो दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्