डाभोसमा ओलीकाे गुनासाे- ‘नेपाली प्रेसले मेरो आलोचना गरिरहेको छ’



काठमाडाै‌: विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा भाग लिन स्विट्जरल्यान्ड डाभोस गएका प्रधानमन्त्री केपी ओली बुधबार प्रजातन्त्रको भविष्य निर्धारण (सेपिङ द फ्युचर अफ डेमोक्रेसी) शीर्षकको सेसनमा सहभागी भएका छन्।

सेसनमा कोलम्बियाका राष्ट्रपति इभान डुके, अर्मेनियाका प्रधानमन्त्री निकोल पासिन्यान, न्युयोर्क टाइम्सका प्रकाशक आर्थर ग्रग सुल्जबर्गर र लिडरसिप नाउ प्रोजेक्टकी प्रमुख कार्यकारी अधिकृत डानियला बालोउ–आरेसले छलफल गरेका थिए । सेसनको सहजीकरण फाइनान्सियल टाइम्सका प्रमुख आर्थिक टिप्पणीकार मार्टिन उल्फले गरेका थिए ।

उल्फले १४–१५ वर्षदेखि प्रजातन्त्र मन्दीमा रहेको विज्ञहरूले बताउने गरेको उदाहरण दिएर कार्यक्रम सुरु गरे । विकासशील मुलुकहरू प्रजातन्त्रतर्फ गएसँगै सन् १९८० देखि प्रजातान्त्रिक प्रणाली विस्तार हुँदै गएको र सन् २००६ मा उत्कर्षमा पुगेको निष्कर्ष उनले सुनाए ।

तर, त्यसपछिको समयमा अमेरिकालगायत विश्वका धेरै देशमा प्रजातान्त्रिक मूल्य–मान्यतामा क्षयीकरण हुँदै गएको र यो प्रणालीमा आक्रमण भइरहेको बताएर प्रश्न सुरु गरेका थिए । पहिलो प्रश्न अर्मेनियाका प्रधानमन्त्रीलाई थियो भने दोस्रो प्रश्न केपी ओलीलाई थियो ।

प्रधानमन्त्री ओली तपाईं नेपालको प्रजातन्त्रका विषयमा विस्तृतमा बताउन सक्नुहुन्छ? सरकारमा अधिकार केन्द्रीकरण भइरहेको भनेर तपाईंको मुलुकमा आलोचनासमेत भइरहेको छ । प्रजातान्त्रिक फ्रेमवर्कमा त्यसलाई कसरी प्रयोग गरिएको छ? विकासशील मुलुकमा सरकारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ? ती देशमा प्रजातन्त्रका मुख्य चुनौतीहरू के–के हुन्?

यो प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफू जनताको सेवक भएको बताए । ‘म आफैँ ५० वर्षभन्दा लामो समय प्रजातन्त्रका लागि लडेको मानिस हुँ । प्रजातन्त्रकै लागि लामो समय जेल पनि बसेको छु । त्यसो हुँदा म शासक बन्न चाहन्नँ । म जनताको सेवक हुँ र जनताकै सेवा गर्न चाहन्छु,’ उनले भने।

नेपालमा स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत आफू र आफ्नो पार्टी सत्तामा आएको पनि उनले बताए । ‘निर्वाचनका वेला हाम्रो पार्टी प्रतिपक्षमा थियो । शान्तिपूर्ण वातावरणमा निष्पक्ष चुनाव भयो । त्यसमार्फत हामीले बहुमतसहितको सरकार बनायौँ,’ उनले भने। नेपाल प्रधानमन्त्रीय प्रणालीसहितको संसदीय प्रजातन्त्र भएकाले कुनै एक व्यक्तिमा शक्तिकेन्द्रित नहुने पनि उनले बताए ।

यद्यपि, प्रजातन्त्रमा पनि केही सीमितता हुने उनले बताए । ‘म राजनीतिक सीमिततामा प्रजातन्त्रको व्याख्या गर्न चाहन्छु । प्रजातन्त्रमा पनि अधिकारको सीमा हुन्छ, स्वतन्त्रताको सीमा हुन्छ । जनताको जीवनस्तरमा सुधार ल्याउन त्यो आवश्यक छ,’ उनले भने । मुलुकहरूले फराकिलो प्रजातन्त्रको अभ्यास गर्नुपर्ने उनको धारणा थियो ।

सन् २०१५ मा जारी नयाँ संविधानले पूर्ण प्रजातन्त्रलाई संस्थागत गरेको, शक्तिपृथकीकरणलाई प्रत्याभूत गरेको, चेक एन्ड ब्यालेन्सको व्यवस्था गरेको उनले बताए । यस्तो अवस्थामा अब आफूहरूसँग आर्थिक विकासमा अघि बढ्न कुनै बाहना बनाउने सुविधा नरहेको उनले बताए ।

‘हामीले जनताको जीवनमा परिवर्तन ल्याउनुपर्नेछ । त्यसो हुँदा हामीले आफूलाई सुशासन र आर्थिक विकासमा केन्द्रित गरेका छौँ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने हाम्रो राष्ट्रिय अठोट पूरा गर्न हामीले ध्यान केन्द्रित गरेका छौँ,’ उनले भने ।

यस्तै प्रश्न अन्य सहभागीलाई पनि सोधियो । दोस्रो चरणको प्रश्न सरकार र प्रेससँगको सम्बन्धको विषयमा थियो । कुनै पनि राजनीतिक नेताले प्रेसलाई मन नपराउने व्यंग्य गर्दै उल्फले प्रश्न सुरु गरे । त्यस चरणमा ओलीलाई प्रश्न थियो– प्रधानमन्त्री ओली प्रेससँग तपाईंको सम्बन्ध कस्तो छ?

सो प्रश्नमा उनले मिडियासँग आफ्नो सम्बन्ध साधारण रहेको बताएका थिए । ‘एकतन्त्रीय शासनमा मिडिया नियन्त्रित हुन्छ, जहाँ मिडियाले शासको स्तुतिगान मात्रै गर्छ । प्रजातन्त्रमा मिडियाले शासकको आलोचना पनि गर्छ । यो सामान्य कुरा हो । हामी प्रजातान्त्रिक शासन व्यवस्थामा छौँ । हाम्रोमा स्वतन्त्र प्रेस छ, मिडियाहरू स्वतन्त्र छन्,’ उनले भने ।

सोही प्रश्नमा पीतपत्रकारिताको विषय उठान गर्दै प्रधानमन्त्रीले मिडियाको आलोचनासमेत गरेका थिए । ‘पत्रकारितामा एउटा ‘पीतपत्रकारिता’ भन्ने शब्द हुन्छ । त्यो राम्रो होइन । त्यसले विषय वस्तुलाई बिगार्छ । समाजमा भ्रम सिर्जना गर्छ,’ उनले भने ।आफूलाई नेपाली प्रेसले आलोचना गरेको गरेको पनि उनले बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बरालले लेखेका छन्। ‘हामीले तीव्र गतिमा धेरै परिवर्तन ल्याएका छौँ । त्यसो हुँदा जनताको अपेक्षा पनि बढेको छ । प्रेसले पनि सरकारसँग त्यस्तै उच्च अपेक्षा गरेको छ । विकास प्रक्रिया जादु होइन । यसमा समय लाग्छ । तर, प्रेसले चाँडै नतिजा खोज्ने गरेको छ,’ उनले भने ।

यद्यपि, प्रजातन्त्रलाई बलियो बनाउन स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण हुने विषयलाई भने उनले जोड दिएका थिए । ‘जनताको जीवनमा विकास र समृद्धि ल्याउन स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण हुन्छ । स्वतन्त्र प्रेसले जनतालाई सही सूचना दिन्छ, शिक्षित गर्छ,’ उनले भने ।पछिल्लो समय सामाजिक सञ्जालले मानिसहरूलाई दिग्भ्रमित गरिरहेको र त्यसलाई व्यवस्थापन गर्न सजग हुनुपर्ने पनि ओलीले बताए ।

प्रजातन्त्रमा प्रेसले संविधान र कानुनअनुरूप चल्नुपर्ने उनको धारणा थियो । ‘मिडियालाई नियन्त्रण गर्ने वा प्रतिबन्ध लगाउने हाम्रो कुनै नियत छैन । त्यस्ता कुनै काम भएका छैनन् । नेपालमा प्रेस पूर्ण रूपमा स्वतन्त्र छ । प्रतिबन्धको कुनै प्रश्न नै हुँदैन । तैपनि, स्वतन्त्रताका नाममा कसैले गलत समाचार दिन्छ र अरूलाई क्षति पु¥याउँछ, कसैको निजी जीवनमा बाधा सिर्जना गर्छ, कसैको इज्जतमा दाग लगाउँछ, कसैको व्यवसायमा क्षति पु¥याउँछ भने त्यो राम्रो होइन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्