दिल्ली हिंसामा यौन दुर्व्यवहार हुनबाट बचेका मुस्लिम महिलाहरूको व्यथा



नयाँदिल्ली : पूर्वोत्तर दिल्लीमा भएको हिंसामा ४० जनाभन्दा बढीको मृत्यु भयो र मृत्यु हुनेमा हिन्दू र मुस्लिम दुवै धर्मका मानिस छन्।

तर घरबारविहीन भएका मुस्लिम महिला र बालबालिकाको भने भविष्य निकै निराशाजनक देखिएको छ।

इन्दिरा विहार क्षेत्रस्थित भरिभराउ ठूलो हलमा थुप्रै सङ्ख्यामा विस्थापित भएका महिला र बालबालिकाहरू कार्पेटमा बसेका थिए।

थुप्रै युवतीहरू शिशु बोकिरहेका थिए, केही साना केटाकेटीहरू वरपर थिए र ती भन्दा अलि ठूला बालबालिकाहरू समूहमा खेलिरहेका थिए।

उक्त हल एकजना मुस्लिम व्यापारीको हो। दिल्लीमा भएको दङ्गाबाट विस्थापित भएकाहरूका लागि शरण लिने ठाउँ उक्त हल भएको थियो।

दङ्गाबाट धेरै प्रभावित दिल्लीको शिव विहार क्षेत्रमा हिन्दू कार्यकर्ताले गरेको गतिविधिका कारण ती महिला र बालबालिका यसरी हलमा शरण लिन पुगेका हुन्।

हिन्दू श्रमिक वर्ग रहेको उक्त क्षेत्रमा मुस्लिमहरूको पनि उल्लेख्य जनसङ्ख्या छ।

नसरिन अन्सारी र उनकी आमा

शिव विहारमा साँघुरा गल्लीहरू छन् र नजिकै फोहोरको नाली छ। त्यही नालीसँगै जोडिएको बाटोकै केही सय मिटर दूरीमा रहेको ठाउँमा मुस्लिमहरूको बाक्लो बस्ती छ।

हिन्दू र मुस्लिम मिश्रित बस्ती रहेको उक्त क्षेत्रलाई एउटा सडकले छुट्ट्याएको छ।

दुवै समुदाय दशकौँदेखि शान्तिपूर्ण रूपमा बस्दै आएका थिए। तर अब त्यो सबै परिवर्तन भइसकेको छ।

कठिन परीक्षा

शिव विहारबाट ज्यान जोगाउन भागेर इन्दिरा विहार क्षेत्रमा पुगेकी नसरिन अन्सारीले आफूहरूको कठिन परीक्षा मङ्गलवार अबेर महिलाहरूमात्रै घरमा रहेका बेलाबाट सुरु भएको बताइन्।

घरका पुरुषहरू मुस्लिमहरूको एउटा धार्मिक कार्यक्रममा सहभागी हुन कोसौँ टाढा दिल्लीको अर्को भागमा पुगेका थिए।

“हामीले ५०-६० जना पुरुषहरू देख्यौँ। मलाई थाहा छैन तिनीहरू को थिए, हामीले पहिला कहिल्यै देखेका थिएनौँ,” नसरिनले भनिन्।

“उनीहरूले हामीलाई हाम्रो संरक्षण गर्न आएको बताए र घरभित्रै बस्न पनि भने।”

नसरिन र अन्य महिलाले झ्याल र छतबाट ती पुरुषहरूलाई हेरे र तत्कालै थाहा पाए कि ती पुरुषहरू संरक्षणका लागि त्यहाँ आएका होइनन्।

उनले झ्यालबाट खिचेको भिडिओमा केही पुरुषहरूले हेलमेट लगाएका देखिन्थे र लामो काठको लौरी पनि बोकेका थिए।

ती पुरुषहरूले जय श्रीराम भन्ने नारा लगाएका थिए र हनुमान चालिसाका केही हरफ पनि वाचन गरेका थिए।

नसरिनकी आमा नूरजहाँ अन्सारीले आफूलाई एक मुस्लिम छिमेकीले फोन गरेर घर जलेको खबर दिएको बताइन्।

“हामीले हाम्रो झ्यालबाट अर्का एक मुस्लिमको घर र औषधि पसल जलाएको देखेका थियौँ।”

दिल्लीमा दङ्गा: घर र पसल आक्रमणमा

हमलाकारीले बिजुलीको ट्रान्सफर्मरमा तोडफोड गरेको र साँझ पर्दा पूरै क्षेत्र अँध्यारो भएको उनले बताइन्।

“केहीबेरमै हामी वरपर आगो बल्न थाल्यो। उनीहरूले मुस्लिमका घर र पसललाई लक्षित गरी आगो लगाए। हिन्दूका घरमा भने केही गरिएन,” उनले भनिन्।

“हामीले यस्तो होला भनेर कहिल्यै पनि सोचेका थिएनौँ। हाम्रो एउटै गल्ती भनेको हामी मुस्लिम भएर जन्मियौँ।”

त्यस्तो घटना भएपछि महिलाहरूले प्रहरीलाई खबर गरेको नसरिनले बताइन्।

“तर जति पटक गरे पनि प्रहरीले पाँच मिनेटमा आइपुग्छौँ मात्रै भने।”

एउटा बिन्दुमा पुगेपछि त केही आफन्तलाई फोन गरेर नसरिनले आजको रात आफू नबाँच्ने बताइन्।

त्यसरी उनीहरूको घरलाई नियन्त्रणमा लिइएको १२ घण्टापछि बिहान ३ बजे उद्धारका लागि केही मुस्लिमसहित प्रहरी त्यो क्षेत्रमा पुग्यो।

“ज्यान जोगाउन हामी लुगा पछाडि बोकेर भाग्यौँ। हाम्रो खुट्टामा जुत्ता पनि थिएन,” उनले भनिन्।

इन्दिरा विहारस्थित हलमा आश्रय लिएका अन्य थुप्रै महिलाले पनि नसरिनको जस्तै त्यो रात के भएको थियो भन्ने कथा सुनाए।

शिरा मलिक

१९ वर्षीया शिरा मलिक र उनको परिवारले नजिकै छिमेकीको घरमा बास मागे।

“हामी फस्यौँ। बाहिरबाट ढुङ्गा र पेट्रोल बम बर्सियो।”

थुप्रै महिलाले उक्त रात झण्डैझण्डै आफूमाथि यौन दुर्व्यवहार हुन लागेको अनुभव पनि सुनाए।

उनीहरूका अनुसार हमलाकारीले टाउकोको पच्छ्यौरी ताने र लुगा च्यातिदिए।

एक वर्षको बच्चाकी आमाले आफ्नो घरमा पसेका केही पुरुषले कसरी आफ्नो लुगा च्यातिदिए भन्ने बताइरहँदा उनी रोइन्।

पछिल्ला केही दिनमा भएका मूर्खतापूर्ण हिंसा आइतवार साँझ सुरु भएको थियो।

नागरिकतासम्बन्धी विवादास्पद नयाँ कानुनलाई लिएर शिव विहारबाट केही किलोमिटर टाढा पर्ने ठाउँमा समर्थक र विपक्षीबीच सानो झडप भएको थियो।

त्यसको केही घण्टामा शिव विहार र चमन पार्कसहित अरू थुप्रै छिमेकी बस्तीमा उक्त झडपको असर पर्‍यो।

मुस्लिम महिला

शिव विहार क्षेत्रमा इँटा र ढुङ्गा जताततै फालिएको थियो। गाडी, घर र पसलहरू जलाइएका थिए।

शिव विहारमा रहेको मस्जिदमा पनि आगो लगाइएको थियो।

इन्दिरा विहारस्थित आश्रयस्थलमा रहेका महिलाहरू कहिले घर फर्किन पाइएला वा नपाइएला भन्ने अन्योलमै थिए।

शबाना रहमान आफ्ना तीन छोराछोरीले कहिले घर जान पाइन्छ भनेर सोधिरहने गरेको बताइन्।

“मेरो घरलाई अपराधीहरूले जलाइसके। अब हामी कहाँ जाने? मेरो बच्चाको भविष्य के हुन्छ? हामीलाई कसले हेर्छ? हाम्रा सबै कागजात हरायो,” रुदै उनले भनिन्। बीबीसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनुहोस्