५८ लाख रुपैयाँ राजस्व बुझाएर सेनाको भवनको नक्सापास



काठमाडौँ :  नेपाली सेनाले काठमाडौंको महांकालस्थित त्रिभुवन–चन्द्र (त्रिचन्द्र) सैनिक अस्पताल भत्काएर बनाएको नयाँ भवनको नक्सापास गराएको छ । सेनाले गत साता काठमाडौं महानगरपालिकामा ५८ लाख रुपैयाँ राजस्व बुझाएर नक्सापास गराएको हो ।

‘सेनाले गत साता ५८ लाख राजस्व तिरेपछि महानगरले भवनको नक्सापास गरिदिएको छ,’ महानगर स्रोतले कान्तिपुरसँग भन्यो, ‘सरकारी भौतिक संरचनालाई दिन सकिने छुट दिई बाँकी राजस्व असुलेर नक्सापास गरेका हौं ।’

महानगरले सेनालाई भवन निर्माण सम्पन्नताको प्रमाणपत्रसमेत दिएको छ । सेनाको यो नक्सापासयुक्त पहिलो भवन हो । सेनाले आफ्नो र व्यापारिक प्रयोजनका लागि बनाएका बाँकी कुनै पनि भवनको नक्सापास गरेको छैन । ९० वर्ष लामो इतिहास बोकेको सेनाको यो अस्पताल भवन प्रथम विश्वयुद्धपछि बेलायत सरकारको सहयोगमा बनेको हो ।

घाइते सैनिकको उपचारका लागि बनाइएको भवन २०७२ को भूकम्पले चर्किएको थियो । पुरानो भवन भएकाले पुरातात्त्विक दृष्टकोणले बनाउनुपर्ने पुरातत्त्व विभागको तर्क थियो । सेनाले भने पुरातत्त्वसँग कुनै सम्पर्क नगरी भवन भत्काएर नयाँ बनाएको कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्