मतपत्र विवाद २०औं पेसीमा पनि स्थगित



चितवन: स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मतगणना हुँदै गर्दा मतपत्र च्यातिएपछि निर्वाचन कसुर तथा सजाय ऐनअन्तर्गत मतपत्र च्यात्नेहरूविरुद्ध चितवन जिल्ला अदालतमा दायर भएको मुद्दामा २० औं पटक पेसी तोकिँदा पनि बहस सुरु हुन सकेको छैन । 

पटकपटक पेसी परे पनि सधैं स्थगित हुँदै आएको छ । बुधबार तोकेको पेसी सरकारी वकिलको कार्यालयबाट स्थगित भएको अदालतले जनाएको छ । स्थानीय तह निर्वाचनका बेला भरतपुर महानगरपालिकाको मतगणना अन्तिम अन्तिम हुँदै गर्दा २०७४ सालको जेठ १५ गते मध्यरातमा मतपत्रहरू च्यातिएका थिए । वडा नं. १९ को मत परिणाम अन्तिम चरणमा थियो । त्यसपछि गन्न बाँकी २० वडा मात्रै रहन्थ्यो । त्यस्तो अवस्थामा मतपत्र च्यातिएपछि भरतपुर १९ मा फेरि मतदान भएर परिणाम घोषणा गर्नुपरेको थियो ।

मतदानको विषयमा सर्वोच्च अदालतले नै टुंगो लगाएको थियो । त्यसैले अदालतबाट अब हुने फैसलाले निर्वाचन परिणाम कुनै असर पर्दैन । यो मतपत्र च्यातेको अपराधविरुद्धको मुद्दा मात्र हो । तर मत च्यात्नेहरूविरुद्ध चितवन अदालतमा परेको मुद्दा अझै विचाराधीन नै छ । मतपत्र च्यातिएपछि चितवन प्रहरीले तत्कालै दुईजना व्यक्तिहरू द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेलाई गिरफ्तार गरेको थियो । उनीहरू तत्कालीन माओवादी केन्द्रका नेता कार्यकर्ताहरू थिए ।

माओवादी केन्द्रले त्यो बेला भरतपुरमा नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेर मेयर पदमा उम्मेदवारी दिएको थियो । आरोपित दुईजनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा पनि निकै छिटो दायर भएको थियो । उनीहरूविरुद्ध ७४ सालको जेठ १७ गते चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको अदालतको विवरणमा उल्लेख छ । त्यसपछि सोही वर्षको साउन २४ मा यो मुद्दामा बहस गर्न पहिलो पेसी तोकिएको थियो ।

त्यसयता २० पटक पेसी तोकिए पनि एक पटक पनि बहस नभई स्थगित हुँदै आएको छ । सुरुका तीनवटा पेसी न्यायाधीश वासुदेव पौडेलको इजलासमा परेको थियो । पहिलो पेसीका दिन इजलास नै बसेन । दोस्रो पेसीमा सार्वजनिक बिदा परेको थियो । तेस्रो पेसी पर्दा न्यायाधीश पौडेल सुरुवा भएर गइसकेका थिए । त्यसपछिका सबै पेसी मुरारीबाबु श्रेष्ठको इजलासमा परेको छ । श्रेष्ठको पालामा पनि चार पटक इजलास बसेको छैन । पाँच पटक जिल्ला सरकारी वकिल र सात पटक प्रतिवादीको कानुन व्यवसायीले स्थगित गरेका कान्तिपुरमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्