मधेश मुद्दा स्थापित, सद्भावना पार्टी विस्थापित



मधेश मुद्दालाई लिएर अहिले विभिन्न राजनीतिक दल सक्रिय छन् । संघीय संसद, प्रदेशसभामा मधेशी दलको प्रतिनिधित्व छ । वर्तमान सरकारमा मधेशवादी दलको सहभागिता र समर्थन छ । तर कुनै बेला मधेश मुद्दालाई बोक्ने एकमात्र व्यक्ति थिए । ती व्यक्ति हुन गजेन्द्रनारायण सिंह । उनै सिंह जसले मधेशी समुदायलाई राज्यले विभेद गरिरहेको छ भनी राजधानीको टुँडिखेलमा पहिलो पटक सार्वजनिक रुपमा सभा गर्दा कुटिनुपरेको थियो । सभा गर्न दिइएको थिएन । सिंह लगायतका तत्कालीन नेताहरुमाथि भौतिक आक्रमण भएको थियो । तर आज परिवेश फरक छ । निर्धक्क रुपमा मधेशवादी दलहरुले राजधानीमा कार्यक्रम गर्न पाएका छन । मधेश मुद्दालाई स्थापित गर्ने तिनै सिंहको आज स्मृति दिवस हो ।  

काँग्रेसबाट राजनीतिक यात्रा आरम्भ गरेका सिंहले २०४० सालमा सद्भावना परिषद् स्थापना गरे । काँग्रेसभित्रको विभेदबाट आजित भएर उनले परिषद् गठन गरे । त्यसलाई सिंहले २०४८ सालमा नेपाल सद्भावना पार्टीको रुपमा रुपान्तर गरे र मधेशवादी राजनीतिको विजारोपण भयो । त्यसअघि पनि विभिन्न कालखण्डमा मधेशवादी राजनीतिको थालनी भएको थियो । तर त्यसले मूर्त रुप लिन सकेको थिएन । तराई काँग्रेस गठन नभएको होइन । तर २०४६ सालको राजनीतिक परिवर्तनसँगै प्रजातन्त्र पुनःस्थापनापछि भएको आम निर्वाचनमा सिंह नेतृत्वमा सद्भावना पार्टी प्रत्यक्ष राजनीतिमा होमियो ।  त्यहीबाट शुरु भयो मधेश केन्द्रित राजनीति । 

नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष सिंहले पार्टी खोल्दा सीमित व्यक्तिको सहभागिता थियो । तर विस्तारै विस्तारै त्यसले संगठित रुप लिदै गयो । कुनै बेला सिंह एक्लै तत्कालीन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्थे । एक्लै भए पनि सिंहको प्रतिनिधित्व तत्कालीन संसदीय राजनीतिमा महत्वपूर्ण थियो । सिंहकै एक्लो समर्थनमा सरकार बन्ने र समर्थन फिर्ता लिदा सरकार ढल्ने स्थिति थियो । नेपाली राजनीतिमा सिंहको छुट्टै किसिमको प्रभाव थियो । उनको सोच, विचार र सिद्धान्तले मधेशलाई नयाँ दिशा त दियो नै तर समग्र्र देशलाई पनि दिशानिर्देश गर्यो । 

राजनीतिक अडान भएका तिनै सिंहको २०५८ माघ १० गते निधन भयो । सिंहको आज १७ आंै स्मृति दिवस । देशका विभिन्न स्थानमा उनको स्मरण गरिदैछ । उनको कुशल नेतृत्वमा राजनीतिक यात्रा प्रारम्भ गरेका व्यक्तिहरु आज नेपाली राजनीतिमा सक्रिय छन् । सिंहको नेतृत्वमा रहेको नेपाल सद्भावना पार्टीबाट राजनीतिमा लागेका व्यक्तिहरु मध्ये कोही राजनीतिमै छन् भने कोही राजनीतिबाट नै टाढिएका छन् । कोही मधेशकेन्द्रित दलमै छन् भने कोही अन्य दलमा छन् । तर सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीको अस्तित्व भने लोपोन्मुख अवस्थामा छ । 

सिंहको नेतृत्वमा राजेन्द्र महतो, हृदयेश त्रिपाठी, रामेश्वर राय यादव, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, मृगेन्द्रसिंह यादव,  सरिता गिरी, खुशीलाल मण्डल, देवेन्द्र्र मिश्र, अमृता अग्रहरी, श्यामसुन्दर गुप्ता, गोविन्द चौधरी, भरतविमल यादव, बद्री मण्डल लगायत कयौ नेताहरु सद्भावना पार्टीमा आवद्ध थिए । अहिले यी नेताहरु आआफ्नै बाटोमा छन् । सिंहको निधनपछि नेपाल सद्भावना पार्टी टुक्रा टुक्रामा परिणत भयो । कहिले को त कहिले को लुँछाचुँडी गर्दै नेतृत्व हत्याए । नेतृत्वको लडाईले सद्भावना पार्टी विभक्त मात्रै भएन मधेश राजनीति नै कमजोर भएर गयो । मधेश मुद्दालाई स्थापित गर्ने सद्भावना पार्टी अहिले आवरणमा छैन । तर त्यसका नेताहरु विभिन्न दलका छन् । महतो,  झा र कर्ण राष्ट्रिय जनता पार्टीमा छन् भने त्रिपाठी र रामेश्वर राजपा त्यागेर नेकपातर्फ लागेका छन् । गिरी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा छिन । 

स्व. सिंहको नाममा प्रतिष्ठानसमेत स्थापना भएको छ । महतो र झाले छुट्टाछुट्टै प्रतिष्ठान सञ्चालन गर्दैआएका छन् । झाले सञ्चालन गरेको प्रतिष्ठानले विहीबार सिंहको स्मृति दिवस राजधानीमा मनाउँदैछ । सिंहको गृहजिल्ला सप्तरी लगायतका जिल्लामा समेत स्मृतिदिवसका अवसरमा कार्यक्रम आयोजना गरिदैछ । तर सिंहले स्थापना गरेका नेपाल सद्भावना पार्टी अहिले अस्तित्वमा नरहनुले कता कता सद्भावना आन्दोलन सेलाएको अनुभूति भइरहेको पुराना नेता श्रीमन नारायण मिश्रको   बताउँछन् । मिश्रका अनुसर सद्भावना पार्टीबाटै थुप्रै नेताहरु जन्मिए, मन्त्री भए, उच्च ओहोदामा पुगे तर सद्भावना पार्टीको नाम हराउनु अत्यन्त विडम्बनापूर्ण हो । 

कुनै न कुनै रुपमा सद्भावनाको अस्तित्व रहिरहनुपथ्र्याे, मिश्र भन्छन्, सिंहले देखाएको बाटोमा मधेश राजनीति डो¥याउन सक्नुपर्छ, सिंहको पदचाप पछ्याउने प्रयासमा सबै रहे तर सिंहजस्तो विशाल हृदय कसैको भएन । मधेशका नाममा विभिन्न पार्टी भए पनि पार्टी विधानमा सिंहको नाम उल्लेख नहुनु दुःखद छ । तथापि सिंहको सिद्धान्तलाई अंगिकार गरेर अघि बढे सिंहप्रति सच्चा श्रद्धान्जलि हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस्