काँग्रेस केन्द्रीय समिति आज बस्दै 



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ । महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक लगायतका विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । काँग्रेसको गत मंसिर २८ गतेदेखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई महासमिति बैठकबाट प्राप्त सुझावलाई ध्यानमा राखेर केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको थियो ।

पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटकमात्र हुने व्यवस्था र केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने कुरा विधानमा राख्न सुझाव आएको थियो । यस्तै नेविसंघको केन्द्र्रीय समितिका विषयमा पनि बैठकले निर्णय गर्ने छ । नेविसंघको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ । संघको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो ।

त्यस्तै काँग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका दुई अस्पताललाई वर्तमान सरकारले विघटनको प्रक्रियामा लगेको, अनशनरत डा. गोविन्द केसीका माग र संसदमा हुने प्रस्तुतिका विषयमा पनि बैठकमा समीक्षा हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्