मोबाइल एप्समार्फत सेवा प्रवाह



नुवाकोट : स्थानीय किस्पाङ गाउँपालिकाले मोबाइल एप्सबाट समेत सर्वसाधारणलाई सेवा प्रवाहको व्यवस्था गरेको छ ।

गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाका अनुसार गाउँपालिकाको नाममा तयार गरिएको किस्पाङ (पष्कउबलन) नामक मोबाइल एप्सबाटै गाउँपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको जानकारी सर्वसाधारण सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् ।

मोबाइल एप्समार्फत गाँउपालिकाको परिचय, जनप्रतिनिधि र कर्मचारीको पूर्ण विवरण, नागरिक बडापत्र, राजश्व–कर, योजनासम्बन्धी जानकारी, कानुन एवं निर्देशिका, बजेट तथा निर्णयलगायतका शीर्षक समावेश गरिएको उनले बताए ।

‘स्थानीय सेवाग्राहीलाई सेवा प्रवाह छिटो–छरितो एवं पारदर्शी रूपमा उपलब्ध गराउन मोबाइल एप्स सुविधा सञ्चालनमा ल्याएका हौँ’, लामाले भने, ‘घटना दर्ता, बोलपत्र आह्वान, गाँउपालिकाले प्रवाह गर्ने सेवासम्बन्धी समस्या दर्ता तथा सुझाव र गुनासा अब इन्टरनेटको सहयोगमा जहाँ बसेर पनि मोबाइलबाटै सेवाग्राहीले गर्न सक्नेछन् ।’

नुवाकोटका १२ स्थानीय तहमध्ये पहिलोे गाउँपालिकाका रूपमा किस्पाङ गाँउपालिकाले यहाँ रहेको लुमिनरी सफ्टवेयर बिल्डर कम्पनीमार्फत ५० हजार रुपैयाँ लगानीमा एप्स तयार गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्