स्कुल भ्यान दुर्घटनामा छ बालबालिका घाइते  



दुर्घटनामा परेकाे स्कुल भ्यान । 

विराटनगर : विराटनगर महानगरपालिका १५ स्थित श्रीराम बोर्डिङ स्कुलको म्यान बिहीबार बिहान ११ बजे दुर्घटना हुँदा छ बालबालिका घाइते भएका छन् । घाइते सबै सोही बोर्डिङ स्कुलका विद्यार्थी हुन् ।

 

सातजना विद्यार्थीलाई लिएर स्कुलतर्फ जाँदै गरेको को१च ७०३४ नम्बरको म्यान स्कुलनजिकै अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाका अनुसार दुर्घटनामा युकेजीमा अध्ययनरत सात वर्षीय कुनाल साह, कक्षा २ मा पढ्ने १० वर्षीय दिलनवाज अन्सारी, आठ वर्षीय कृष्ण राजवंशी, नौ वर्षीय मधार अन्सारी, कक्षा १ मा पढ्ने पाँच वर्षीय आयुष यादव र कक्षा ३ मा अध्ययनरत नौ वर्षीय पिपल राणापाल घाइते भएका छन् । 

घाइतेहरुको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइतेमध्ये कुनाल र दिलनवाजको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते बालबालिकालाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पु¥याएका हुन् । प्रहरीले भ्यानमै सवार कक्षा ३ मा अध्ययनरत ब्युटी साह भने सकुशल रहेको र उनलाई कुनै पनि चोटपटक नलागेको जनाएको छ । 

दुर्घटनामापछि भ्यानका चालक विराटनगर १४ का वीरेन्द्र महतो फरार छन् । उनको खोजी थालिएको र उनलाई पक्राउ गरिएपछि मात्रै दुर्घटनाको कारण खुल्ने प्रहरी निरीक्षक रानाले बताए । 

प्रतिक्रिया दिनुहोस्