१ लाख २८ हजार पर्ने बिरालाको रौं काटेपछि मृत्यु, पोस्टमार्टमपछि मालिक्नीले हालिन् मुद्दा



इन्दौर : भारतीय राज्य मध्यप्रदेशको इन्दौरकी एक महिलाले १ लाख २८ हजार (८० हजार भारतीय) रुपैयाँमा किनेको बिरालो मरेपछि स्थानीय एउटा पार्लर सञ्चालकमाथि मुद्दा दायर गरेकी छन्। घटना यस्तो थियो।

इन्दौरको तलावली चाँदा बस्ने काजल राठौरले आफ्नो विदेशी बिरालो जायनको रौं काट्न पार्लर लगिन्। रौं काटेर घर फर्किएपछि बिरालो म-यो।

काजलले मरेको बिरालाको पोस्टमार्टम गरिन्। पोस्टमार्टम गर्दा बिरालाको फोक्सोमा पानी पसेको देखियो। त्यसपछि उनले प्रहरीमा उजुरी गरिन्।

इन्दौरको एउटा आइटी कम्पनीमा कार्यरत रहेकी राजस्थानकी उनले ३ वर्षअघि त्यो बिरालो किनेको बताइन्। बिरालो विदेशी थियो। उनले बेंगलुरुमा आफूले १ लाख २८ हजार (८० हजार भारतीय) रुपैयाँ तिरेर किनेकी थिइन्।

बिरालोको रहनसहनमै आफूले लाखौं रुपैयाँ खर्च गरिसकेको उनको भनाइ छ। उनी एक वर्षअघि सरुवा भएर इन्दौर आएकी हुन्। बिरालोको स्याहारसुसारका लागि उनले एउटा स्क्रब पार्लरमा लिएर गइन् र पार्लर सञ्चाल मधुसँग बिरालोको रौं छाँट्न भनिन्।

पार्लरका कर्मचारीले गलत तरिकाबाट बिरालोको मुखमा पानी छ्याप्दै नुहाइदिएको आरोप काजलले लगाएकी छन्। त्यसो नगर भनेर रोक्न खोज्दा सञ्चालकले आफूलाई पार्लर बाहिर निकालेर बिरालाको रौं काटेको काजलले बताइन्।

पार्लर सञ्चालक मधुले भने काजलको आरोप गलत भएको दाबी गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्