मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?



मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्रीले सोमबार शपथ लिएका ३ जना मन्त्रीको पनि जिम्मेवारी तोकेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद् १८ सदस्यीय भएको छ ।सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री हुनेछन् ।

त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्नेछन् ।

त्यस्तै दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्नेछन् । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री बनेका छन् भने वर्षमान पुन अर्थमन्त्री बनेका छन् ।

शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र समुना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् ।

एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री हुने

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री सहभागी हुने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भानुभक्त जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा सहरी विकास मन्त्री बन्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्