‘भगवान बन्न’ जसले आफूलाई जमिनमा गाडे



नयाँदिल्ली : भारतका एक व्यक्तिले भगवानको रुपमा पुर्नजन्म लिनका लागि स्वेच्छिकरुपमा आफूलाई जमिनमा गाडेका छन्। करिब आठ घण्टा जमिन भित्र गाडेको अवस्थामा रहेपछि उनको उद्धार गरिएको थियो। राजस्थानको कारोचोका खेदा गाउँमा रहेको एक मन्दिरमा तान्त्रिक रहेका धिरज खारोलले सो प्रयास गरेका हुन्।

केही समयअघि उनले आफूलाई जमिनमा गाडेर समाधी लिने र तीन दिनपछि भगवानको रुपमा पुर्नजन्म लिने घोषणा गरेका थिए। यता, गाउँका मानिसहरुले उनलाई सम्झाउनुभन्दा पनि उनको निर्णयलाई स्वागत गर्दै उल्टै सहयोग गरेका थिए। उनीहरुले धिरज बस्ने मन्दिर नजिकै खाल्डो पनि खनेका थिए।

धिरजको निर्देशन अनुसार गाउँका मानिसहरुले उनलाई जमिनमा गाडेका थिए। नजिकका गाउँका मानिसहरु पनि आएर यो ‘समारोह’ मा सहभागी भएका थिए । जब यो खबर नजिकैको प्रहरी कार्यालयमा पुग्यो प्रहरीले यो कार्य रोक्न टोली पठायो। प्रहरी अधिकारी मानसिंह देव र केही प्रहरी उनलाई उद्धार गर्न पुगे पनि गाउँलेले केही बेर उनहिरुलाई रोकेका थिए।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रहरीले गाउँलेलाई यसबाट उनको ज्यान जाने कुरा सम्झाएपछि मात्र उद्धार गर्न दिएका थिए।प्रहरीले धिरजलाई गाडेको स्थान खन्दा उनी बेहोस भइसकेका थिए। मिडिया रिपोर्टका अनुसार उनलाई तत्कालै नजिकैको स्वास्थ्य चौकी लगिएको थियो। उनको स्वास्थ्य अहिले सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्