मोना–बेनी–लभ्लिहिल पदमार्ग अलपत्र



म्याग्दी : प्रर्याप्त प्रचार प्रसार र तामझामका बीच निर्माण सुरु गरिएको मोना–बेनी–लभ्लिहिल पदमार्ग एक महिनादेखि अलपत्र परेको छ। बेनी नगरपालिका,प्रवासी नेपाली म्याग्देली संघ (मोना) र म्याग्दी उद्योग वाणिज्य संघको त्रीपक्षीय साझेदारीमा निर्माण हुने सो पदमार्ग साझेदार निकायबीच अविश्वासका हुँदा पदमार्ग अलपत्र परेको हो।

बेनपा–२ हाँडेभिर देखि लभ्लीहिलसम्मको ६७७ मिटर उकालोमा पदमार्ग निर्माण गर्न थालिएको हो। पदमार्गको करिब ५५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ। उपभोक्ता समितिले आफूले गर्नुपर्ने काम दोस्रो व्यक्तिलाई ठेक्कामा दिएपछि साझेदार निकायबीच अविश्वास पैदा भएको छ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य उपभोक्ता समितिको अध्यक्ष रहेको यो पदमार्ग निर्माणको काम दोस्रो व्यक्तिलाई ठेक्कामा दिएको भन्दै नगरपालिका र मोनाले असन्तुष्टि जनाएका छन्।अध्यक्ष कर्माचार्यले पदमार्गका मजदुरहरू बेनी बजार संरक्षण आयोजनामा परिचालन भएकाले काम रोकिएको बताए।

बजार संरक्षण योजनामा छोटो समयमा धेरै काम गर्नुपर्ने तर, मजदुर नपाएकाले पदमार्गका मजदुर समेत नदी नियन्त्रण योजनामा परिचालन गरिएको उनको भनाइ थियो। १.८ मिटर चौडाई भएको दायाँबाया दुवैतर्फ रेलीङ सहितको पदमार्ग निर्माणमा ७६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

नगरपालिका, मोना र संघले क्रमशः पचास, चालीस र दश प्रतिशत लगानी गर्ने सम्झौता भएको थियो। उद्योग वाणिज्य संघ र मोनाले आर्थिक स्रोत जुटाउन नसक्नु पनि पदमार्ग निर्माण रोकिनुको अर्को कारण हो।

अध्यक्ष कर्माचार्यले संघ र मोनाले समितिको खातामा जम्मा गर्नुपर्ने रकम व्यवस्थापन भइसकेको दाबी गरे। ६७७ मिटर पदमार्ग बनाउनुपर्नेमा हालसम्म ३५० मिटर मात्र बनेको बेनी नगरपालिकाका इन्जिनियर बिमलरञ्जन कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्