माओवादी केन्द्रले गण्डकीमा समर्थन फिर्ता लियो



काठमाडौँ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ ।आज बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले सो निर्णय गरेको हो ।

माओवादी केन्द्र गण्डकी प्रदेशकी प्रमुख सचेतक कुसुम बुढाले समर्थन फिर्ताको पत्र संसद् सचिवालयमा बुझाइसकेको जानकारी दिइन् । केन्द्रमा सत्ता समीकरण फेरिए लगत्तै गण्डकीका मुख्यमन्त्री पाण्डेले मङ्गलवार मात्र माओवादीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका थिए ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा काँग्रेसका २७ सांसद छन् । नेकपा एमालेका २२ र माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् । राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद छन् ।

गण्डकीमा सरकार बनाउन सांसद सङ्ख्या ३१ चाहिने भए पनि एमाले र माओवादीका २९ सांसद छन् । सभामुखले राजीनामा दिए पनि ३० मात्र हुन्छ । त्यसैले गण्डकीमा एमाले-माओवादीको सरकार बन्न राप्रपा र समाजवादी निर्णायक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्