नेकपा नेता पाण्डे भन्छन् : ढुक्क हुनुहोस् वृद्ध भत्ता बढ्छ



कैलाली : पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता सुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्षको बजेटमा वृद्ध भत्ता बढने बताएका छन्।

धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले नेकपाले चुनावका समयमा बोलेको बाँचा पुरा गर्नकै लागी भए पनि सरकारले वृद्ध भत्ता बढाउने दाबी गरे। पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘ढुक्क हुनुहोस् वृद्ध भत्ता बढ्छ।’ नेता पाण्डेले चालू आर्थिक वर्षमा उत्पादनको क्षेत्रमा बढी जोड दिएकाले आगामी आर्थिक वर्षमा सरकारले वृद्ध भत्तामा बढोत्तरी गर्ने संकेत दिए।

मुलुक संघीयतामा गइसकेपछि प्रदेश सरकार र स्थानीय सरकारसित पर्याप्त बजेट रहेको बताउँदै नेता पाण्डेले तिनै तहका सरकारले बजेट खर्च गर्न नसकेको धारणा व्यक्त गरे। कर्मचारीहरूको फटाफट हुने सरुवाका कारण बजेट खर्च हुन नसकेकोले तीनवटै तहका सरकारको खर्च गर्ने क्षमता बढाउँन कर्मचारीको स्थायीत्व हुनुपर्ने नेता पाण्डेको भनाई थियो। 

प्रतिक्रिया दिनुहोस्