आज गोरखकाली पूजा र बुधाष्टमी व्रत



काठमाडौँ । बुधवार को दिन अष्टमी परेकाले अलौकिक र महत्त्वपूर्ण तिथिको समायोजन भएको छ । जसलाई बुधाष्ठमी भनिन्छ ।ब्रह्माण्ड पुराणमा यस तिथिको महत्त्व विशेष रूपमा अभिव्यक्त गरिएको पाइन्छ ।यस दिन व्रत बस्नाले मृत्युपछि नर्क जानु नपर्ने मान्यता रहेको छ । आजका दिन बुध ग्रहसमक्ष भक्तहरूले आफ्ना भावना र कामनाहरू राख्ने चलन हुन्छ । यस अर्थमा पनि यो दिनलाई बुधाष्टमी भनिएको हो ।

यस दिन बुध ग्रहलाई विशेष नैवेद्य अर्पण गरिन्छ । साथै पूजा सकिएपछि मात्र यी नैवेद्यहरू लगायत प्रसादीहरु वितरण गर्न र भोजन गर्न दिइन्छ । यसका अलावा भगवान् बुद्धको धातुमा अकिंत प्रतिमामा पनि अर्चना गर्ने चलन पनि आजका दिनमा पाइन्छ ।

बुधाष्टमी को दिन के के गरिन्छ ?

यस व्रतमा बिशेषत शिव पार्वतीको अर्चना गर्ने चलन रहन्छ, यस दिन व्रत बस्नाले मृत्युपछि नर्क जानु नपर्ने मान्यता छ । आजका दिन बुध ग्रहसमक्ष भक्तहरूले आफ्ना भावना र कामनाहरू राख्ने चलन हुन्छ, यस अर्थमा पनि यो दिनलाई बुधाष्टमी भनिएको हुनुपर्दछ । बुध ग्रहको दोष भएका मान्छेहरूका लागि यस दिन विशेष फल दिने दिन रहन्छ ।

गोरखकाली पूजा

बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।

यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ ।

गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ । यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो ।

प्रतिक्रिया दिनुहोस्