राजपा पदाधिकारी बैठकमा कसले के भने ? महाधिवेशनबारे यस्ताे धारणा



काठमाडाैं : राष्ट्रिय जनता पार्टीमा एकता महाधिवेशन गर्ने या नियमित महाधिवेशन गर्ने भन्ने विषयमा विवाद देखिएको छ । आइतबारबाट सुरु भएको पदाधिकारी बैठकमा सोमबार अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले महाधिवेशनसम्बन्धी दुई विकल्प पेस गरेका थिए । उनले पेस गरेका दुई विकल्पमा कुन महाधिवेशनलाई प्राथमिकता दिएर अगाडि बढ्ने भन्नेमा अध्यक्ष मण्डलका सदस्यहरूबीच नै विवाद देखिएको हो ।  

संयोजक भण्डारीले महाधिवेशनको प्रक्रिया तथा तिथिमिति निर्धारणसम्बन्धी प्रस्तावमा एकता महाधिवेशन र नियमित महाधिवेशनको विकल्प पेस गरेका थिए । नियमित महाधिवेशनमा जाँदा पार्टी एकढिक्का नहुने र समय थोरै भएकाले हतार हुने भन्दै एकता महाधिवेशन गर्नु उपयुक्त हुनेमा भण्डारीले जोड दिए ।

एकता महाधिवेशनमा भण्डारीको जोड

‘६ पार्टी मिलेर राजपा बनेको हो । एकता महाधिवेशन नभएकाले पार्टीभित्र भिन्नाभिन्नै धार कायम छ । यस्तो अवस्थामा नियमित महाधिवेशन गर्‍यौँ भने पार्टी एकढिक्का हुन सक्दैन,’ बैठकमा प्रस्ताव पेस गर्दै भण्डारीले भने, ‘तसर्थ एकता महाधिवेशन गरौँ । राजनीतिक समितिबाट एकल नेतृत्वमा जाने निर्णय हामीले गरिसकेका छौँ । एकता महाधिवेशनले पार्टी एकढिक्का बनाएपछि नियमित महाधिवेशन गरौँला । कानुनी जटिलता अन्त्य गरेपछि समय दिएर नियमित महाधिवेशन गर्दा उपयुक्त हुन्छ ।’ एकता महाधिवेशनमा पार्टीको केन्द्रीय समिति सदस्य, प्रतिनिधिसभा र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकतर्फका सांसद, उम्मेदवार, स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा उम्मेदवारलाई महाधिवेशन प्रतिनिधि बनाउने प्रस्ताव उनको छ । 

बैठकमा कसले के भने ?

मुख्य विषय महाधिवेशन हो : महन्थ ठाकुर

राजपाको अबको मुख्य विषय महाधिवेशन गर्दै नयाँ नेतृत्व चुन्ने हो । महाधिवेशन गर्दा एकता महाधिवेशन वा नियमित महाधिवेशन जे गरे पनि हुन्छ । तर, महाधिवेशन हुन पर्‍यो । 

पार्टी एकढिक्का नहुँदै नियमित महाधिवेशन सम्भव हुँदैन : राजेन्द्र महतो 

जबसम्म पार्टी एकढिक्का हुँदैन, तबसम्म नियमित महाधिवेशन सम्भव छैन । यदि नियमित महाधिवेशन भइहाल्यो भने पनि त्यसको कुनै अर्थ रहँदैन । तसर्थ, पहिला एकता महाधिवेशन गरेर पार्टीलाई एकढिक्का बनाऔँ, त्यसपछि नियमित महाधिवेशन गरौँला । 

एकता महाधिवेशन होइन, पूर्ण महाधिवेशन : महेन्द्र राय यादव 

महाधिवेशनको सन्दर्भमा संयोजकजीले राखेका दुवै विकल्पमा मेरो असहमति छ । पार्टी महाधिवेशन भनेको हतारमा हुँदैन, समय लगाएर भए पनि प्रक्रिया पुर्‍याएर गर्नुपर्छ । महाधिवेशन पूर्ण नै हुनुपर्छ । अध्यक्ष मण्डलमा रहेका हामीले विधानतः महाधिवेशन गर्न सकेनौँ भने विघटन गरौँ । 

सदस्यता नटुंग्याई केको एकता महाधिवेशन ? : अनिल झा

महाधिवेशन गर्न पहिला सदस्यताको टुंगो लाग्नुपर्छ । राजपाको साधारण र सक्रिय सदस्यता टुंगो लागेको छैन । राजपाको सदस्यता उपयुक्त तरिकाले वितरण भएको छैन । साधारण र सक्रिय सदस्यताको वितरण र नवीकरण टुंगिएपछि नियमित महाधिवेशन गर्ने कार्यतालिका बनाउनुपर्छ, एकता महाधिवेशन हुँदैन । 

नियमित महाधिवेशन हुनुपर्छ : राजकिशोर यादव

महाधिवेशन विधि र प्रक्रिया पुर्‍याएर नियमित तरिकाले हुनुपर्छ । अब पनि एकता महाधिवेशन भनेर हुँदैन । अध्यक्ष मण्डलमा रहेका हामी इमानदार नहुँदा अक्षम भयौँ । त्योभन्दा बढी दोषी छौँ भने अध्यक्ष मण्डल डिजल्ब गरौँ । महन्थ ठाकुरको संयोजकत्वमा बनेको महाधिवेशन आयोजक समितिलाई पूर्णता दिएर महाधिवेशन गर्ने सबै अधिकार दिऔँ ।

प्रतिक्रिया दिनुहोस्