राज्यको ‘अवैध रकम’ बाट मस्जिद बन्नुहुँदैन भनेपछि बवाल



जनकपुरधाम : प्रदेश २ का सांसद जनन्त अन्सारीले मुस्लिम धर्मावलम्बीको मस्जिद राज्यको पैसाबाट बन्न नहुने बताएपछि मुस्लिम अगुवाले विरोध गरेका छन् । 

मंगलवार मुस्लिम आयोगद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश सभा सदस्य अन्सारीले इस्लामिक धर्मानुसार हलाल र हरामको पैसाबाट मस्जिद बनाउन नहुने बताउँदै राज्यले अवैध पैसा लगानी गर्न नहुने जिकिर गरेका हुन् । 

‘त्यसैले त्यो करको रकमबाट होइन, हामी आफ्नै मेहनतको र सामूहिक दानबाट मस्जिद बनाउनुपर्छ’, उनले भने । उनले यति भनेपछि कार्यक्रममा सहभागी प्रदेश २ का मुस्लिम नेताहरुले कडा विरोध जनाएका छन् ।

अन्सारीले आफ्ना भनाइ राख्दै गर्दा हल्ला सुरु भएको थियो । आधा घण्टासम्म हल्लापछि आयोगका अध्यक्ष अन्सारीले सबैलाई सम्झाउँदै शान्त गराएका थिए ।

‘राज्यले अवैध मासु, मदिरा, रेष्टुरेन्ट, क्यासिनो लगायतका कारोबारबाट भारी मात्रामा कर संकलन गर्ने गर्छ’, उनले भनेका थिए, ‘इस्लामिक धर्मले हलाल र हरामको कमाई ठानेको छ, यस्ता रकमबाट मस्जिद निर्माण गर्नु इस्लामी धर्मविरुद्ध हुन्छ ।’

कार्यक्रममा अन्य वक्ताहरुले राज्यले हिन्दुहरुको मठ मन्दिर र विद्यालयका लागि करोडौ रुपैयाँ बजेट विनियोजन गर्दै आएको बताउँदै मस्जिद र मदरसामा विभेद गरेको गुनासो गरे । उनीहरुका धारणाको प्रत्युत्तर दिँदै प्रदेश सभा सदस्यले यस्ता विचार राख्ने क्रममा लफडा भएको हो । 

प्रतिक्रिया दिनुहोस्