आहा ! यो गर्मीमा इन्द्रचोकको चिसो लस्सी



काठमाडौं : टन्टलापुर घाम, अग्ला–अग्ला घर, कोलाहाल सडक छेउमै प्रस्ट ब्यानरहरुमा लेखिएका छन्, मिठो लस्सी, इन्द्रचोकको फ्रेस स्विट चिसो लस्सी। कोही कराउँदै थिए, आउनुस्, आउनुस्, पुरानो लस्सी पसल यता हो, यता। त्यतै लम्किँदै थिइन्। मेकअपको सामान किन्न प्राय इन्द्रचोक पुगिरहने इमाडोलकी सपना ठटाल त्यतै लम्किँदै थिइन्।

न्युरोड आएपछि उनी इन्द्रचोकको चिसो लस्सी नखाई कहिले फर्किदिनन्। पाँच वर्ष भो उनले इन्द्रचोकको त्यो चिसो लस्सी खान थालेको। इन्द्रचोकबाहेक अरु ठाउँको लस्सी मन नै पर्दैन उनलाई। चिसोे लस्सी खाँदै भन्छिन्, ‘न्युरोड जानुको मजा भनेको यहाँको चिसो लस्सी हो, अन्य ठाउँको भन्दा स्वाद नै बेग्लै।’ सपना मात्र हैन। इन्द्रचोकको लस्सीमा नलोभिने सायद कोही छैनन् होला। सबै ग्राहकलाई सन्तुष्ट बनाएकै कारण पनि होला इन्द्रचोकको लस्सी पसल सधैं व्यस्त हुने गर्छ।

सवारी, मान्छेहरूको भीड अनि जेठ महिनाको गर्मीका कारण पनि असन इन्द्रचोकमा आउने प्रायः मान्छेको लत कोकाकोला, फ्यान्टाजस्ता छाडेर लस्सीमा बस्न थालेको छ। जाडोमा भन्दा गर्मीमा बढी बिके पनि इन्द्रचोकको लस्सी पसल बाह्रै महिना सञ्चालनमा आउँछ।

गर्मीमा महिनामा त भ्याइनभ्याइ नै हुन्छ। पसलेलाई भ्याइनभ्याइ हुन्छ, लस्सी दिन। मझौला आकारको भड्डुमा लस्सी दिइन्छ। दुई भिन्न आकारको डिस्पोजल गिलासमा लस्सी भरिन्छ। त्यसमाथि केही किसमिस राखिन्छ। त्यसपछि खुवा। सानो साइजको ४५ रुपैयाँ, ठूलोको ८०। आफूलाई कुन गिलासको खान मन छ टपक्क गिलास टिप्यो। उभिएरै घुट्क्यायो। अनी पैसा बुझायो आफ्नो बाटो लाग्यो।

दैनिक बिहानदेखि साँझ ८ बजेसम्म आकास भैरव मन्दिर परिसरमा लस्सी खानेहरूको भीड लागिरहेको हुन्छ। अहिले गर्मीको याम भएकाले लस्सीको व्यापार धेरै हुने गरेको छ। लस्सी खानकै लागि मानिसहरू ठेलमठेल गरिहेका हुन्छन्। अहिले नयाँ लस्सी पसल पनि थपिएको छ।

त्यसैले पनि होला त्यहाँका व्यापारीमाझ प्रतिस्पर्धा निकै बढेको देखिएको छ। इन्द्रचोकको पुरानो लस्सी पसलमा त भीड छँदै छ। नयाँ खुलेकोमा पनि मानिसहरुको भिड त्यतिकै देखिन्छ। यस भीडबाट नै प्रस्ट हुन्छ कि इन्द्रचोककोे लस्सी सबैभन्दा प्रख्यात छ।

मान्छेहरू त्यस्तो भीडमा पनि उभिएरै खाने गर्छन् ठाउँ नभएकोमा कसैलाई गुनासो छैन। वर्षौंदेखि यो पसलहरु यसरी नै चलेको छ।

 

प्रतिक्रिया दिनुहोस्