सुरु भयो यार्चागुम्बा सङ्कलन



मनाङ । मनाङको नाम्केखर्कबाट यार्चागुम्बा सङ्कलन सुरु गरिएको छ । यहाँका धेरै खर्कमा यार्चागुम्बा पाइने भए पनि नासोँ गाउँपालिका–८, ताचैस्थित नाम्केबाट सङ्कलन थालिएको हो । यही वैशाख १० देखि करिब दुई सय जना औषधीय जडीबुटी यार्चागुम्बा सङ्कलनको अनुमति लिएर नाम्केखर्कतर्फ गएका छन् । अनुमतिपत्रबिना यार्चागुम्बासङ्कलन गर्न पाइँदैन । अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइन्छ ।

संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासोँ–८ का वडाध्यक्ष याद घलेले यार्चा पाइने नजिकको खर्कबाट वैशाख १० देखि सङ्कलन सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मनाङमा यार्चागुम्बा सङ्कलन थालिने पहिलो गन्तव्य नाम्केखर्क हो । उहाँले भन्नुभयो, “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालयको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्चागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाइने प्रावधान छ । सोही अनुरूप यार्चागुम्बा सङ्कलनका निम्ति नाम्केखर्कमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइएको छ ।”

यार्चागुम्बा खोज्ने क्रममा २०६६ सालमा नारस्थित नाम्ग्यखर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङका साबिकको नार र फु गाउँ विकास समितिमा यार्चागुम्बा सङ्कलन रोकिएको थियो । अहिले त्यस्ता घटना दोहोरिन नदिन अन्य जिल्लाका सङ्कलकलाई अनुमति दिइँदैन ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जिल्लाभित्र यार्चागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसलाई व्यवस्थित गर्ने कानुन भनेको यससँग सम्बन्धित निर्देशिकामा यार्चागुम्बा सङ्कलन व्यवस्थापन संरक्षण समितिले गर्ने उल्लेख छ । राज्यबाट शुल्क लिने, कर लगाउने भनेको कुरा त अधिकारप्राप्त निकायले गर्नुपर्ने हो तर कानुनी रूपमा स्पष्ट नभएकाले यसलाई उपयुक्त फोरममा उठाउनु पर्छ । यो जल्दोबल्दो विषय भएकाले अहिलेलाई साबिकमा जे भएको छ, त्यही किसिमले जान उपयुक्त हुन्छ भन्ने हाम्रो बुझाइ छ ।”

प्रजिअ लामिछानेले भन्नुभयो, “सुरक्षाकर्मी छन् भनेर सोच्यो भने कहीँ पनि सुरक्षा हुँदैन, हाम्रा सुरक्षाकर्मी तपाईंको साथमा हुनुहुन्छ । सूचना समयमा दिने, आवश्यक सहयोग र समन्वय गर्ने कुरामा सहमति भएको छ ।” अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालयले यार्चागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाइन्छ । मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्चागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्छन् । नार घटनापछि एक्याप मनाङले यार्चागुम्बा सङ्कलनलाई व्यवस्थित बनाउँदै लगेको छ ।

एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलले नार्पाभूमिका खर्कमा यार्चागुम्बा खोज्न बाहिरी जिल्लाका सङ्कलकलाई अनुमति नदिएको बताउनुभयो । उहाँका अनुसार जिल्लाका तीन खर्कमा यार्चागुम्बा सङ्कलनमा बाहिरी जिल्लाका व्यक्तिलाई रोक लगाइएको छ । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले अहिले यार्चागुम्बा सङ्कलन गरिने भए पनि बाहिरी जिल्लाका सङ्कलकलाई अनुमति नदिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा चुनौतीकै कारण बाहिरी जिल्लाबाट आउने यार्चागुम्बा सङ्कलकलाई रोक लगाएका छौँ । विगतमा भएको जस्तो घटना दोहोरिन दिनु हुँदैन भनेर स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौँ ।” यार्चागुम्बा सङ्कलनका लागि अनुमति लिन प्रतिव्यक्ति ३५ हजार शुल्क तोकिएको उहाँको भनाइ छ ।

उहाँले नार्पाभूमिको नार र फु संरक्षित तथा निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था नाआओस् भनी निर्णय गरिएको हो । जिल्लाका अन्य खर्कमा वैशाखबाट र नार्पाभूमिमा जेठबाट मात्रै यार्चागुम्बा सङ्कलन गरिन्छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्