धर्म र परम्परालाई नै थाती राखी सामाजिक परिवर्तनमा मुस्लिम युवती  



जनकपुरधाम : परिवर्तनको सम्वाहक मानिससँगै संसार परिवर्तनशील छ । विश्व समाज पनि परिवर्तनशील छ । व्यक्तिको रहनसहन, चालचलनमा आउने भिन्नतालाई नैै परिवर्तन भएको मान्न सकिन्छ । परिवर्तन सधैँ सकारात्मक दिशाउन्मुख हुनुपर्छ । मानिसले निर्माण गरेका वस्तुहरू तथा उसले अङ्गीकार गरेका मूल्य–मान्यतामा निरन्तर परिवर्तन भइरहन्छन् । मानिसले चाहेर पनि नचाहेर पनि समाजको विकास क्रमैसँगै परिवर्तनको दिशामा स्वतः अघि बढिरहेको हुन्छ । समाजकै मार्गनिर्देशअनुसार मानिसले आफ्नो रहनसहन तथा चालचलनमा परिवर्तन ल्याउँछ ।  अनि परिवर्तनको कर्ताको श्रेय आफू भएको अनुभूति गर्छ ।  

यस्तै सामाजिक परिवर्तनमा अग्रसर छिन् एक मुस्लिम किशोरी । मस्लिम समुदायमा जन्मेकी १९ वर्षीया रिफत परविन । उनी दुनियाँको सोचभन्दा फरक छिन् । न कसैको मतलब गछिन् न कसैको कुरा नै सुन्छिन् उनी बस आफ्नो भनिष्य बनाउने यात्रामा अघि बढ्दै छिन् ।

जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरकी रिफत अहिले प्राविधिक शिक्षा पढाई गर्दै मुस्लिम समुदाय र समाजमा छुट्टै नै पहिचान बनाउदै छिन् । 

उनी धार्मिक मूल्य मान्यताभन्दा बढी आफ्नो भविष्यप्रति चिन्तित छिन् । सायद भनौ रिफतले  परिवारको पनि साथ पाएकि छिन् । यसैले त उनी ढुक्कसँग आफ्नो भविष्य बनाउन अघि बढ्दै छिन् ।  

बिएससी एमएलटी प्राविधिक शिक्षा अध्ययरत रिफत मुस्लिम समुदायको धार्मिक र सामाजिक रितिजिवाज विपरित आफ्नो उद्देश्य प्राप्ति गर्दैछिन् । 

मुस्लिम समुदायको आफ्नो छुट्टै धार्मिक आस्था र सामाजिक रितिरिवाज मात्र होइन मूल्यमान्यता पनि फरक हुन्छ । कुरानका अनुसार एउटी मुस्लिम युवती वा महिलाहरुले निर्वाह गर्नुपर्ने जिम्मेवारी र दायित्व अन्य समुदायभन्दा अति फरक हुन्छ । तर, मुस्लिम धर्मगुरु मुल्लाहरुले त्यसलाई वातानुकूल बनाउन सहजता प्रदान गरेको यदा कदा हेर्न पाइन्छ ।

मुस्लीम समुदायमा अझै पनि धार्मिक र मजहबी पढाई पढाउने परम्परा विद्धमान रहेको छ । तर,  धार्मिक र मजहवी पढाईले मात्र भविष्य नभन्ने सोचले उनि बिएससी एमएलटी प्राविधिक शिक्षाको अध्धयन गर्दैछिन् ।  

धार्मिक पढाइले मात्र आजको समयमा आफ्नो खुट्टामा उभिन नसकिने भन्दै रिफत धार्मिक पढाए सकेर प्राविधिक विषयको अध्ययन गर्न थालेकी उनि स्वयं बताउछिन् । 

समय परिवर्तनसँगै मुस्लिम समुदायमा पनि अब मजहबी पढाईको साथ–साथै एकेडमिक कोर्ष पनि गर्नुपर्छ भन्ने सोचको विकास भएको उनी बताउछिन् । उनी भन्छिन, ‘हाम्रो समुदायमा सकारत्मक रुपान्तरण भएको छ र विगत भन्दा अहिले धेरै परिवर्तन पनि भएको छ ।’

विना बुर्का घरबाट बाहिर निस्किन नहुने समुदायमा अहिले पाइन्ट–सर्ट लगाएर स्कुल, कलेज पढ्न जानु, केटाहरुको बीचमा बस्न पाउनु, बिभिन्न विषयमा कुरा गर्न पाउनुले मुस्लिम समाजमा परिवर्तन भएकै हो भन्ने भनाइ रिफतको छ । 

फरक पढाई, शालिन व्यवहार र सोचकै कारण सामान्य परिवारमा जन्मेकी रिफत अहिले बस्ने टोलमा चर्चाकी पात्र बनेकी छिन् । रिफतकी पिता साजिद हुसैन मुस्लिम समुदायका अगुवाको रुपमा रहेका छन् । बाबु मुस्लिम समुदायको अगुवा भएर पनि होला छोरी रिफतलाई सहयोग पुगेको छ । 

रिफतले मुस्कुराउँदै भनिन्, ‘आमाले छोरीलाई धेरै पढाउनुपर्छ भनेर बुवालाई मनाउनु भयो र मैले  प्राविधिक शिक्षा पढ्न पाए ।’

इस्लाम धर्ममा महिलाले के गर्ने के नगर्नेबारे उल्लेख छ । तर, बदलिदो परिवेशसँगै महिला बिना बुर्का  बाहिर निस्किन थालेको स्थानीय तैयब राइनको भनाइ छ । 

तैयव भन्छन्, ’इस्लाममा पुराणा मान्यता अनुसार महिलाले घर बाहिर निस्किदा बुर्का लगाउनु पर्ने र महिलाले गरेको मेकअप गैर पुरुषको नजरमा आउनु हुन्न जस्ता मान्यताहरु अब परिवर्तन हुँदै गएको छ ।’ मुस्लिम महिलामा स्वतन्त्रताको खाँचो रहेको तैयबको भनाइ छ । 

मुस्लिम पौराणिक मान्यता अनुसार मुस्लिम समुदायमा महिनावारी हुँदा घरमा अन्य कुनै परिवारका सदस्यलाई जानकारी गनराउन नहुने परम्परालाई रिफतले चुनौती दिँदै घरका अन्य सदस्यसँग महिनावारी भएको बेला खुलेरै कुरा गर्ने गर्छिन । रिफत भन्छिन्, ‘महिलाले महिनावारी बारे घरमा कसैलाई जानकारी नगराउने नियम थियो । तर, अहिले आमाबुवाले बजारबाट सेनिटरी प्याड ल्याइदिने गरेको उनि बताउछन् ।’

सहरमा बस्ने मुस्लिम महिलाहरुको अवस्था फरक भएको बताउँदै जनकपुर ८ की मरियम खातून भन्छिन्, ‘मुस्लिम समुदायकी महिलाले महिनावारी भएको समयमा कुरान सरिफ छुन नहुने, पतीपत्नीसँगै खान नहुने र घर परिवारलाई यसबारे बताउन नहुने चलन भएकै कारण मुस्लिम महिला पडाडि परेका हुन् ।’

अधिवक्ता अब्दुल अजिज आलम मुस्लिम महिलाहरुमा आधुनिक शिक्षाको आवश्यकतामा जोड दिन्छन् । उनले भने, ‘महिला शिक्षित नभए सम्म कुप्रथा अन्त हुँदैन ।’

मुस्लिम महिलाले अहिलेको प्रतिस्पर्धात्मक युगमा शिक्षाका लागि घर बाहिर निस्किनु पर्ने अजिजको तर्क छ । 

मुस्लिम किशोरीलाई प्राविधिक शिक्षाका लागि अनुमति दिएको विषयमा प्रसंशा गर्दै जनकपुर ८ की ७० वर्षीया बदो खातुन भन्छिन्, ‘विगतभन्दा अहिले मुस्लिम महिलाको लागि राम्रो हुँदै गएको छ । मुस्लिम महिलाको नाममा सम्पति समेत राख्न थालेको छ । श्रीमतिकै नाममा पनि पतिले जग्गा पास गर्नेदेखि लिएर लुगा लगाउने तरिका, लिहाज सबैमा एकदमै परिवर्तन भएको छ ।’

त्यस्तै जनकपुर १६ स्थित फैजाने मदिना मदर्साका मौलवी मुफ्ती उस्मान बरकातीका अनुसार मुस्लिम समुदायमा परिवार नियोजनलाई अपराध मान्छन् । तर, पछिल्लो सयमा मुस्लिम महिलाहरु परिवार नियोजनका साधन प्रयोग गर्न थालेका छन् । समुदायमा परिवार नियोजनमा बन्देज रहेपनि विशेष अवस्थामा परिवार नियोजनको इजाजत रहको मौलवी बरकातीको भनाइ छ । 

तीन पटक तलाख.. तलाख.. तलाख.. भनेपछि श्रीमान् श्रीमतीबीचको सम्बन्धविच्छेद हुने जस्ता प्रथा  भोगदै आएका मुस्लिम समुदायमा रिफत र मरियम जस्ता युवती र महिलाहरुले समाजमा सकारत्मक परिवर्तन गर्दै छन् भने  बदो खातुन जस्ता आमा साजिद हुसैन जस्ता पिता र तैयब जस्ता पतिको पनि अपरिहार्यतालाई नकार्न मिल्दैन ।

मुस्लिम महिला प्राविधिक शिक्षा, सम्पतिमा अधिकार र समाजको गलत र रुढिवादी परम्परालाई थाति राखि परिवार नियोजनको साधन प्रयोग गर्नु उदाहरणिय परिवर्तन मान्न सकिन्छ  । अन्य महिला सरह स्वतन्त्र भएर बाच्ने अधिकार मुस्लिम महिलालाई पनि राज्यले दिएको छ ।

राज्यले दिएको अधिकार व्यवहारमा लागू भए मुस्लिम महिला समेत समाज निर्माणका लागि अन्य समूदायसँगै हातमा हात मिलाएर अगाडि बढ्न सक्ने उनी बताउँछिन् । 

प्रतिक्रिया दिनुहोस्