राजनीतिक दल र सरकार नै दलाली, जनताले कहिले बुझ्ने ?



रुषा थापा, भक्तपुर । अहिले जनता निराश छन् । विभिन्न क्षेत्रमा लगानी गरेकाहरू पनि नराम्ररी डुबिसकेका छन् । घरजग्गा, गाडी र सेयरमा लगानी गरेकाहरू पनि डुबेका छन् । र, सहकारीमा निक्षेप जम्मा गरेका बचतकर्ताहरू पनि डुबेका छन् । बैङ्कबाट ७० प्रतिशत बचतकर्ताले निक्षेप निकालिसकेको बैङ्ककै कर्मचारीहरू नाम नबताउने सर्तमा बताउँछन् ।

बजारमा धेरै कोठा, फ्ल्याट र सटर खाली भएका छन् । मालपोत र यातायात कार्यालय सुनसान छ । तर, सरकार दलाल गरेर बसिरहेको छ । आफ्नो देश र जनताको हितमा काम गर्नुपर्नेमा सरकार अन्य देशलाई फाइदा हुने काम गरिरहेको छ । दिनहुँ हजारौँ नेपाली जनता रोजगारी, अध्ययन, अध्यापनका निम्ति बिदेसिएका छन् ।

यसले देशको सक्षम र दक्ष जनशक्ति बिदेसिनुका साथै नेपाली मुद्रा समेत बिदेसिएको छ । सरकार नै आफ्नो देशका जनतालाई बेचिरहेको छ । र, आफ्नो देशको पैसा बाहिरी मुलुक पठाइरहेको छ । देशको खेतीयोग्य वा उब्जनी हुने जमिनमा सरकारले प्लानिङ वा घर बनाउन दिइरहेको छ । जसले गर्दा आज मुलुकमा खाद्यान्न सङ्कट निम्तिने सङ्केत देखिएको छ ।

दलालीहरूले आनाको दश हजार नपर्ने खेतीयोग्य जमिन खण्डीकरण गरेर लाखौँमा बेचे । सर्वसाधारण फसाए । अहिले हामी सबै नेपालीको भान्छामा बाहिरी मुलुकबाट आएको खानेकुरा पाक्छ र हामी खाम्छौँ । देशको ९५ प्रतिशत खेतीयोग्य जमिन घर र बाटो बनाउँदा मासिएको छ । बाहिरबाट आयात गरिएका खाद्यान्न निकै महँगो हुन्छ ।

यसले आर्थिक अवस्था कमजोर भएका जनताहरू भोक भोकै मर्नुपर्ने अवस्था आएको छ । यति मात्र होइन, विदेशीले खाद्यान्न नपठाए यहाँ धनीदेखि गरिबसम्म भोक भोकै मर्नुपर्छ । पछिल्लो समय नेपालले हरेक सामान विदेशबाट आयात गर्ने गरेको छ । नेपालमै उत्पादन हुने वस्तु पनि विदेशबाट आयात गरिन्छ । यहाँ नुनदेखि सुनसम्म विदेशीको बिक्री हुने गरेको छ ।

नेपाल विदेशीको लागि एउटा व्यापारको थलो बनेको छ । विदेशीले नेपाललाई प्रयोग गरेर थुप्रै फाइदा उठाइसकेको छ । र, अझै उठाइरहेको छ । तर, हाम्रो देश भने अहिले पनि जहाँको त्यहीँ छ । हामी सामान निर्यात गर्नुभन्दा पनि आयातमा बढी केन्द्रित छौँ । हरेक सामानमा परनिर्भर छौँ । कुनै पनि वस्तु तथा सामान हामी आत्मनिर्भर छैनौँ ।

छिमेकी मुलुक भारतले बिक्री नहुने फलामको समेत प्रयोग गरेर चिल्लो गाडी बनायो । हामी नेपालीहरू पनि त्यसमै आकर्षित भयौँ । नेपालका अटो शोरुमहरुले भारतमा ५० हजार नपर्ने सवारीसाधन यहाँ ल्याएर लाखौँमा बिक्री गरे । र, अहिले पनि गर्दै छन् । यता, बैङ्कले सय रुपैयाँ कित्तामा निष्कासन गरेको सेयर दलालीहरूले मूल्य बढाएर चार हजारसम्ममा बेचे ।

यहाँ ठगे ठग छन् । जो पनि ठग्नतिरै केन्द्रित छन् । मिनपावर र कन्सलट्रेन्सीहरु आफ्नै देशका नागरिकलाई अन्य देशमा बेचेर कमाइरहेका छन् । सरकार पनि देशै धितो राखेर विदेशीसँग खर्बौँ ऋण लिइरहेको छ । सत्तामा बस्नेहरू जनतालाई भ्रममा पारिरहेका छन् । सरकारी कर्मचारीहरू भ्रष्टाचारमा व्यस्त छन् । यहाँ देश र जनताको लागि काम गर्नुभन्दा आफ्नो भुँडी कसरी भर्ने रु भन्नेतिर सबैको ध्यान छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूले पनि सर्वसाधारणलाई नै ठगे । करोडौँ बचतकर्ताको खर्बौँ लिएर वा डुबाएर सहकारी भाग्यो । लघुवित्त, फाइनान्सहरूले पनि सर्वसाधारणको बिजोग बनाएको छ । पछिल्लो समय त बैङ्कका कर्मचारीले समेत बचतकर्ताको खातामा रहेको रकम चोर्न थालेका छन् । बैङ्क, वित्तीय संस्थाहरूले थुप्रैको उठीबास लगाएका छन् ।

करोडौँको ऋण लाखमा पचाएर ऋणीलाई सडक छाप बनाएका छन् । उता, निजी विद्यालयको पनि ठगी धन्दा बढ्दो छ । विद्यार्थीबाट अनावश्यक शुल्क उठाउने क्रम अझै रोकिएको छैन । त्यस्तै, भाटभटेनी, सुपरमार्केट, बग मार्टमा पनि यस्तै छ । कमसल, गुणस्तरहीन र कम तौलको सामान चर्को मूल्यमा बेचेर यिनीहरूले सर्वसाधारण ठगिरहेका छन् ।

यहाँ जो पनि ठग्नमै व्यस्त छ । अनि त्यसमा जहिले पनि सर्वसाधारण नै पर्ने गरेका छन् । राजनीतिक दलदेखि सरकारी कर्मचारी, व्यापारी, बैङ्क तथा वित्तीय संस्था, दलाली सबैले जनता नै ठगिरहेका छन् । सर्वसाधारण हरेक क्षेत्रबाट ठगिएका छन्, लुटिएका छन् । अहिले जनतामा सचेतनाको वृद्धि भएको छ । पहिलाभन्दा धेरै सर्त भइसकेका छन्, सर्वसाधारण ।

योसँगै बैङ्क तथा वित्तीय संस्थाहरूको नाफामा गिरावट आएको छ । सर्वसाधारण ठग्न नआएपछि बैङ्कहरूको आम्दानी घटेको छ । अहिले बैङ्कमा पैसा राख्ने र कर्जा लिने कोही छैन । बैङ्कको ठगी धन्दा बारे थाहा पाएपछि जनताले बैङ्कमा पैसा राख्न र कर्जा लिन दुवै छोडेका हुन् । बैङ्कमा पैसा निकाल्नेको भीड छ त कर्जा प्रवाह शून्य छ ।

बैङ्कले जतिसुकै सस्तोमा कर्जा दिन्छु भने पनि कोही जाँदैनन् । किनकि बैङ्क , ठग, चोर हो भनेर सर्वसाधारणले थाहा पाइसकेका छन् । सहकारी त भागिहाल्यो । करोडौँ बचतकर्ताको बिचल्ली बनायो । अहिले घरजग्गा, गाडी र सेयर कारोबार ठप्प छ । केही वर्षअघि ५० लाख आनामा किनेको जग्गा अहिले पैसाको खाँचो परेर आधा मूल्यमा बेच्छु भन्दा समेत बिक्री भइरहेको छैन ।

यता, बैङ्कले लिलाम गरेको धितो पनि बिकेको छ । झन् चार हजार कित्तामा किनेको सेयर अहिले सय रुपैयाँमा बिक्री नहुने भएको छ । गाडीमा पनि यस्तै भएको छ । नयाँ होस् या पुरानो गाडी कसैले किन्दैन । बिस लाखमा किनेको गाडी अहिले त्यसको आधा मूल्यमा बिक्दैन । तीन वर्षअघि काठमाडौँका न्यूरोड, भोटाहिटी, इन्द्रचोक, नयाँ बानेश्वर, बल्खु, कलङ्की, बौद्धलगायतमा सटर पाउनै मुस्किल हुन्थ्यो ।

एउटै सटरको मासिक भाडा तीन लाखदेखि १८ लाखसम्म हुन्थ्यो । तीन महिनाको भाडा पहिल्यै तिर्नुपर्थ्यो । खाली सटर बिस लाखदेखि ६० लाखमा किनबेच हुन्थ्यो । एउटा कोठा ९ हजारदेखि २० हजार र एक फ्रल्यटको ३० हजारदेखि तीन लाखसम्म पर्थ्यो । सवारीसाधन राखेको छुट्टै पैसा तिर्नुपर्थ्यो । महिनाको पाँच हजारदेखि पन्ध्र हजारसम्म ।

भाडामा बस्नेहरूलाई केही पनि सेवा सुविधा दिदैंनन् थिए, घरधनीहरू । उल्टै बत्ती, पानी, फोहोर र नेटको पैसा पनि दोब्बर उठाउँथे । महिना मर्नुअघि नै घरधनीहरू भाडा माग्न आइपुग्थे । अनि पैसा लिए पनि बिल चाहिँ नदिने । अहिले काठमाडौँ उपत्यकासहित मुलुकभर धमाधम कोठा, सटर र फ्ल्याट खाली भएका छन् ।
भाडामा बस्दै आएकाहरू आफ्नै गाउँघर फर्किएका छन् । अहिले बैङ्कहरू डुबिसकेका छन् । किनकि बैङ्कको पनि लगानी घरजग्गा, गाडी र सेयरमै छ । अब जनता चलाखो हुनुपर्छ । सहकारीका बचतकर्ताबाट पाठ सिक्नुपर्छ । हिजो हामी भाग्दैनौँ, डुबेका छैनौँ भनेर दाबी गर्ने सहकारीहरू पनि अहिले भागेका छन् ।

बचतकर्ताहरू मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । एउटै सहकारीमा एकै बचतकर्ताको लाखदेखि करोड डुबेको छ । त्यसैले अब बैङ्कका बचतकर्ताहरूले यहाँबाट पाठ सिक्नुपर्छ । बैङ्कका आफ्नो पैसा सुरक्षित छ भनेर बस्नुहुन्न । किनकि हिजो सहकारीमा पनि आफ्नो पैसा सुरक्षित छ भनेर सर्वसाधारण ढुक्कसँग बस्दा आज नरामरी डुब्ने परेको छ ।

०४६ सालपछि जग्गाको मूल्य बढेको छ । र, बैङ्क तथा वित्तीय संस्थाहरू पनि च्याउ उम्रिएरै खुले । बैङ्क, वित्तीय संस्थाहरूले घुसको आडमा आँखा चिम्लेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । यो जोखिमपूर्ण क्षेत्र हो भनेर सोचेनन् । दलालीहरूले यसको मूल्य बढाएका थिए ।

तर, अहिले त दलालीहरू नै भागेका छन् । राजनीतिक दल र दलालीहरूको मिलेमतोमा घरजग्गा, गाडी र सेयर कोमूल्य ह्वात्तै बढेको थियो । सर्वसाधारणले दलालीको लहेलहेमा लागेर यसमा लगानी गरेका थिए । लगानी बढेसँगै राज्यको ढुकुटीमा पनि राजस्वको ओइरो लाग्यो । यद्यपि, अहिले जनतामा सचेतना वृद्धि भएपछि दलालीहरू भाग्नुपरेको छ भने राज्य राजस्वविहीन भएको छ ।

अब जनताले राजनीतिक दलका नेता र सरकार नै दलाली हुन् भनेर बुझ्नुपर्छ । यिनीहरूले देशलाई कङ्गाल बनाए र जनतालाई डुबाए । राजनीतिक दल र सरकारले देश धितो राखेर विदेशीसँग ऋण लिइरहेको छ भनेर पनि अब जनताले बुझ्नुपर्छ । सरकार अहिले पनि विदेशीसँग ऋण लिएर कर्मचारी र जनप्रतिनिधिलाई तलब भत्ता खुवाइरहेको छ । तर, देश सरकारको मात्र होइन, जनताको पनि हो । त्यसैले, अब जनता आफ्नो देश बचाउन सडकमा आउनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्