योगेशका अगाडि आइफा !



काठमाडौं : नेपाल भ्रमण वर्ष नजिकिएसँगै २० लाख पर्यटक भित्र्याउने सरकारको महत्वकांक्षी लक्ष्य पूरा होला त भन्ने प्रश्न पनि चोटिलो भएर तेर्सिएको छ । २० लाख पर्यटक भित्र्याउन सरकारको तयारीबारे हालसम्म कुनै प्रकारका योजना सार्वजनिक भएको छैन । पर्यटन प्रवर्धन गर्न सरकारको आधिकारिक निकाय पर्यटन बोर्डले पनि नेपाल भ्रमण वर्षको तयारी के कसरी गरिरहेको छ भन्नेबारे कुनै जानकारी छैन । 

तर, एउटा सत्य चाहीके हो भने नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने ‘आइफा अवार्ड’ आयोजना गर्ने महाअवसर भने सरकारले गुमाएको छ । नेपालको पर्यटन प्रवर्धन गर्नका लागि सुनौलो अवसर बनेर आएको आइफा अवार्ड हुन नदिने वातावरण बन्नु आफैमा दुखद कुरा थियो । र यही मेसोमा सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन् आशा लाग्दा जुझारु युवा नेता योगेश भट्टराई । अनेक चुनौतीका चागंमा उभिएका भट्टराईका अगाडि आइफा अवार्ड पनि एक चुनौती हो । के योगेशले आइफा आयोजना गर्ने हिम्मत गर्लान त ? 

अपारदर्शी हुँदा भएन आइफा

विश्व चर्चित हिन्दी चलचित्रको अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार (आइफा) नेपालमा हुने समाचारले नेपालीहरूलाई तरङ्गित बनेको थियो । नेपालमा आइफा आयोजना हुँदा देशको पर्यटकीय महत्व अरू बढ्ने भएकाले नेपाली खुसी भएका थिए । किन भने यसले नेपालको पर्यटन प्रवद्र्धनका लागि अभुतपूर्व अवसर प्रदान गथ्र्यो । तर, आइफा आयोजना अपारदर्शी देखिदा त्यसमा नेपालले गर्ने खर्चको विषयलाई लिएर सामाजिक सञ्जालमा सरकारको आलोचना सुरु भयो । खर्च र सम्झौताहरू अपारदर्शी हुँदा आलोचना हुनु स्वाभाविक थियो । तर, आलोचनालाई सम्बोधन गर्न आइफाबारे पारदर्शी हुनुको साटो तत्काललाई आइफानै आयोजना नगर्ने निर्णय सरकारले गर्यो । यो नेपाल जस्तो विकासोन्मुख देशका लागि दुर्भाग्य पूर्ण निर्णय थियो ।

अहिलेसम्मको अनुभवले के पुष्टि गर्छ भने आइफा पर्यटन प्रबद्र्धनका लागि कोशे ढुङ्गा सावित भएको छ । १२० भन्दा बढी मुलुकका सञ्चार माध्याममार्फत आइफा प्रत्यक्ष प्रशारण हुन्छ, जसलाई ६० करोड बढी दर्शकले एकै पटक हेर्छन । आइफाकै माध्यमबाट पर्यटन प्रबद्र्धन गरेर प्रशस्त विदेशी मुद्रा आर्जन गरेका मुलुकहरु छन् । जसको पछिल्ला उदाहरण श्रीलंका, क्यानडा लगायतका देश हुन् । 

सन् २०१० मा आइफाको ११ औँ संस्करण आयोजना गर्ने श्रीलंकाले टिकट बिक्री र आइफाको मुख्य प्रायोजकमा ईक्रोम्याक्स र भिडियो कोनबाट ४ अर्ब १० करोड डलर आम्दानी गरेको थियो । जबकी उसले आइफा आयोजना गर्न १ अर्ब १० करोड डलर मात्र लगानी गरेको थियो । आइफा आयोजनापछि श्रीलंकामा विदेशी पर्यटकको संख्या प्रशस्तै बढेको बताइन्छ । त्यस्तै क्यानडाको टोरन्टोमा भएको आइफाको १२ औँ संस्करणमा १० मिनेटमै सबै टिकट सकिएको थियो । क्यानडाले पनि पर्यटन प्रवर्धनका लागि आइफा आयोजना गरेको थियो । टिकट बिक्रीबाटै नाफामा गएको क्यानडालाई त्यसपछि पर्यटन बढ्नु बोनस जस्तो भएको थियो ।

आइफा लोकप्रिय हुनुमा भारतीय कलाकारको बढ्दो क्रेज महत्वपूर्ण कारण हो । अमेरिकाको हलिउडपछि भारतीय चलचित्र उद्योग ठूलो मानिन्छ, जसलाई बलिउड भनिन्छ । भारतीय सिनेमा र कलाकारकारको लोकप्रियता संसारभर कति बढेको छ भन्ने चीनमा समेत हिन्दी सिनेमाले करोडौ डलर कमाएको र कलाकारहरू चीन जाँदा हजारौ फ्यानले घेरिएको देखेर थाहा पाउन सकिन्छ । सामाजिक सञ्जालहरुमा ती कलाकारहरुका करोडौ फ्लोअर्स हुन्छन् । 

भारतीय हिन्दी चलचित्रका विभिन्न विधामा उत्कृष्ट कलाकौशल देखाएका कलाकारहरुलाई आइफाले वर्षमा एक पटक अवार्ड प्रदान गर्दै आएको छ । अहिलेसम्मको अनुभवले अवार्ड आयोजना भएको देशका विभिन्न ठाउँहरू हिन्दी चलचित्रको सुटिङ स्थल पनि बन्ने गरेको छ । अवार्ड आयोजना हुँदा कलाकारसँगै उनीहरुका हजारौ फ्यान पनि उपस्थित हुने गर्छन् । यसले पर्यटनलाई टेवा दिने नै भयो । तर, नेपालले आइफा आयोजना स्थगित गरेर पर्यटन प्रवर्धनको महाअवसर गुमाएको छ । यस्तो अवसरलाई नवनियुक्त पर्यटन मन्त्री भट्टराईले सदुपयोग गर्न सक्नुपर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आगामी वर्षलाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेको छ । जसमा, २० लाख पर्यटक भित्र्याउने लक्ष छ । ‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षा पूरा गर्न सरकारले यसलाई एउटा महत्वपूर्ण अवसर मानेको थियो । संसारको सर्वोच्च शिखर सगरमाथा र गौतम बुद्धको जन्मभूमि भनेर चिनिएको नेपालबारे आइफामा भाग लिन आएका सेलिब्रेटीहरुले एक–एक वटा ट्विट गरे मात्र पनि पर्यटन प्रवद्र्धनका लागि काफी हुन्थ्यो । कलाकारलाई ट्विटमार्फत आफ्ना फ्यानहरूलाई नेपाल घुम्न आग्रह गरिदिन अनुरोध गर्न सकिन्थ्यो । त्यसले उनीहरूका फ्यानमा नेपाल प्रति चासो बढ्थ्यो । र, आइफापछि पर्यटक पक्कै बढ्न सक्थ्यो । त्यसले नेपालको अर्थतन्त्रमा नै एक प्रकारको सकारात्मक परिवर्तन ल्याउनेछ ।

सरकारका लागि अन्तर्राष्ट्रिय फोरम

भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास सुरु गरेको कम्युनिस्ट पार्टीको दुई तिहाइ बहुमत सरकार बनेको तथा शान्ति र स्थिरता सुरु भएकाले अहिले विश्वको ध्यान नेपालमा केन्द्रित छ । भारतको नाकाबन्दीसँग नझुकेर राष्ट्रवादी नेताको छवि बनाएका ओली नेतृत्वको सरकार प्रतिको जिज्ञासा पनि नेपालबारे विश्वको ध्यान तानिनुको अर्को कारण बनेको छ । यस्तोमा आइफामा प्रधानमन्त्रीले सम्बोधन गरेर विश्वजगतलाई नेपालबारे एकै पटक जिज्ञासा मेटिने गरी बोल्न सक्छन् । यसले नेपाल र ओलीको कद अरू बढ्नेछ । आइफा आयोजना सामान्य कुरा होइन् । यत्रो महत्वपूर्ण आइफा आयोजना गर्न स्वीकृत दिएको सरकारले सम्बन्धित क्षेत्रसँग छलफल नै चलाएन । आइफाको गरिमा र महत्वबारे प्रचारप्रसार गरिएन । आइफा आयोजना गर्ने सम्झौता गोप्य राखियो । आइफा आयोजनालाई राष्ट्रिय गौरवको विषय बनाइनुपथ्र्यो । मुलुकको हितमा कसरी यसलाई उपयोग गर्न सकिन्छ भनेर बताइनुपथ्र्यो । त्यता तिर सरकारको ध्यान पुगेको देखिएन । यस्तो नजानेर भयो वा जाना–जान गरिएन । यसले एकै पटक धेरै प्रश्नहरू उब्जाएको छ । यसको जवाफ पनि भट्टराईले दिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्