अरुलाई दोष थुपार्नुभन्दा आफैं सक्षम बनौं : मुख्यमन्त्री राउत



वीरगन्ज : प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले अरुलाई दोष थुपार्नुभन्दा आफूले आफैंलाई सक्षम बनाउनुपर्ने बताएका छन्। वीरगन्जको बहुअरीमा शुक्रबारदेखि आयोजित ‘मानवता संरक्षण अन्तर्राष्ट्रिय सम्मेलन’मा बोल्दै मुख्यमन्त्री राउतले मुलुकमा प्रतिनिधित्व गर्न आफैंलाई सक्षम बनाउनुपर्ने बताए।

मुलुकमा मुस्लिम समुदायको प्रतिनिधित्व छैन, ठूला पदमा मुस्लिम समुदायको व्यक्तित्व छैन भन्नुभन्दा आ–आफ्ना बालबालिकालाई सानैदेखि विद्यालय पठाएर सक्षम बताउनुपर्ने उनको धारणा थियो।

‘सानै उमेरदेखि बालबालिकालाई मदर्शामा पठाउने, अलि ठूलो भएपछि काममा लगाइदिने त्यसपछि वैदेशिक रोजगारमा पठाउने अनि मुलुकमा मुस्लिम समुदायको प्रतिनिधित्व भएन भनेर अरुलाई दोष थुपार्ने ?’, मन्त्री राउतले भने। उनले आफ्ना बालबालिकालाई सानैदेखि शिक्षा प्रदान गरि क्षमतावान बनाउन कार्यक्रममा सहभागी मुस्लिम समुदायलाई सुझाव दिए।

मुस्लिम समुदायका बालबालिकालाई लक्षित गर्दै प्रत्येक जिल्लामा मदर्शा स्कुल स्थापना गरि उर्दु, नेपाली, अंग्रेजी लगायत विषयको पढाई हुने उनले जानकारी दिए।

कार्यक्रममा राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारी, मुस्लिम फोरम नेपालका अध्यक्ष मौलाना नुरुल होदा लगायतको सहभागिता रहेको थियो। तीनदिनसम्म चल्ने सम्मेलनमा देश तथा विदेशका विद्वानहरूले प्रवचन दिने कार्यक्रम रहेको छ। 

प्रतिक्रिया दिनुहोस्