घोडेपानी : जहाँ हिमाली देवताको आर्शिवाद लिएपछि मात्र सुरु हुन्छ दिनचर्या



म्याग्दी : शिरमा रहेको पुनहिलबाट हात अघि बढाए छोइएला झै लाग्ने धौलागिरी, निलगिरी, अन्नपूर्ण, गुर्जा टुकुचे, माछापुछ्रे लगायतका हिमाल। तिनै हिमाललाई हेर्नका लागि आउने विश्वभरका लाखौं पर्यटकलाई सेवा र सहयोग गर्न आवश्यक सुविधाहरूको चाँजोपाँजो मिलाउन सधै व्यस्त हुने गर्छन विश्वविख्यात घोडेपानीका होटल व्यवसायी।

घोडेपानीका होटल व्यवसायीहरू मगर जातीका छन्। उनीहरू सधैं पर्यटकहरूको खानपान, खाजानास्ता र वासका लागि व्यस्त हुन्छन्। उनीहरूको दैनिकी सधैं एकनासको हुने गर्छ। पर्यटकहरूको सेवाका लागि सधैं भ्याइनभ्याइ हुने घोडेपानीका व्यवसायीहरूको दैनिकी भने बिहान उठ्ने बित्तिकै हिमाली देवताको आर्शिवाद लिएपछि मात्र सुरु हुन्छ।

हिमाल र गुराँसकै कारण घोडेपानी विश्वभरी चिनिएको छ। हिमाल घोडेपानी र पुनहिलको समृद्धि र विकासको सोपान भएको घोडेपानीका होटल व्यावसायी जुनबहादुर पुनले बताए। ‘हिमाल हाम्रो प्राण हो, हिमालकै कारण हाम्रो जीवन चलेको छ,त्यसैले हामीले बिहान उठ्ने बित्तिकै हिमाली देवताको आर्शिवाद लिएर आफ्नो काम धन्दामा लाग्ने गर्छौ’, घोडेपानीको होटल स्नो भ्यूका संचालक समेत रहेका पुनले भने।    

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ मा पर्छन् विश्वचर्चित अन्नपूर्ण र पुनहिल। पुनहिल सरकारले घोषणा गरेको एक सय गन्तव्य स्थलमा समेत पर्छ। भ्रमण वर्षको अवसर पारेर सरकारले एकसय गन्तव्य स्थलको घोषणा गरेसँगै घोडेपानी र पुनहिलमा आउने आन्तरिक तथा  बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको घोडेपानीका होटल व्यवसायीहरूले बताएका छन्।

म्याग्दी र कास्कीका दुई अन्नपूर्ण गाउँपालिकाको सिमामा अवस्थित घोडेपानी पदयात्रामा आएका पर्यटकका लागि नाता कुटुम्बकहाँ पाहुना लाग्न गएको घर जस्तै लागेको यहाँ आउने पर्यटकहरूले बताउने गर्दछन्। घोडेपानी केवल हिमाल, गुराँस र प्राकृतिक सौन्दर्यका कारणले मात्रै संसारका विभिन्न मुलुकहरूबाट आउने पर्यटकलाई प्यारो र आफ्नै जस्तो लाग्ने गरेको भने होइन। यहाँका व्यवसायीहरू केवल पैसा कमाउन र पर्यटनलाई व्यवसायसँग जोड्न मात्र होइन आएका पाहुनाहरूको सेवा र सहयोग गर्न पनि उत्तिकै लागि पर्दछन्।

घोडेपानीबाट पुनहिल जानका लागि उकालो चढ्ने क्रममा कोही बिरामी भयो,अशक्त वा घाइते भयो भने आफैंले बोकेर वा गाडीको व्यवस्था गरी पुनहिलसम्म पुर्याउँछन्। बिरामीलाई अस्पतालसम्म लैजानु र सारो गाह्रो परेकालाई सहयोग गर्नु उनीहरू हिमाली देवताको आज्ञा भन्ठान्छन् र सोही अनुरुप सहयोग गर्ने गर्दछन्। 

स्थानीय होटल तथा पर्यटन व्यावसायी टेकसर बुद्धुजा पुन भन्छन्, ‘यहाँ व्यवसायी भावना कम, सहयोग र सेवाको भावना बढी छ, त्यसैले यहाँका व्यवसायीप्रति पर्यटकहरूको पूरा पूरा विश्वास छ, हामीले कमाएको सम्पत्ति पनि त्यही हो।’ हिमाली देवताको आर्शिवाद, प्रकृतिको सदाबहार सौन्दर्य, हिमश्रृङ्खलाको चुम्बकीय आकर्षण र स्थानीयको सहयोगी र सेवा प्रधान भावनाले घोडेपानी र पुनहिलको समृद्धि चुलिएको छ। यहाँका व्यवसायीहरूले पैसा मात्रै कमाएका छैनन् विदेशीहरूको विश्वास पनि कमाएका छन्।

आत्मियता र हार्दिकता प्राप्त गरेका छन् र यी सबै चिजहरूलाई उनीहरूले सोही ठाउँको पूर्वाधार निर्माणमा खर्चिएका स्थानीय होटल व्यवसायी एवम् अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या.डमवहादुर पुनले बताए। अध्यक्ष पुनका अनुसार घोडेपानीका व्यवसायीहरू विकासका लागि सरकारको मुख ताक्ने प्रवृत्तिबाट कोशौं टाढा छन्।

यहाँका व्यवसायीहरूको विकास प्रतिको लगाब विछट्टै छ। अध्यक्ष पुन भन्छन, ‘यहाँ जति पनि पूर्वाधार निर्माण भएका छन् त्यसमा सरकारको लगानी थोरै र स्थानीयको श्रम बढी छ। पर्यटकबाट प्राप्त आर्थिक सहयोग र जनश्रमदानबाट पदमार्गदेखि लिएर अन्य सबै पूर्वाधारहरू निर्माण भएका छन्।’

प्रतिक्रिया दिनुहोस्