वीरगन्जको बाइपासमा पार्किङ गरिएका दुई बसमा आगजनी



वीरगन्ज : वीरगन्जको बाइपास सडकनजिकै पार्किङ गरिएका दुई बसमा सोमबार राति अज्ञात समूहले आगजनी गरेको छ। बाइपास चोकको कृष्णप्रणामी मन्दिर जाने बाटो पश्चिमको खाली जग्गामा पार्किङ गरिएका ना ५ ख ३६१४ र ना ५ प ३६१५ नम्बरका दुई बसमा राति करिब साढे १० बजेतिर अज्ञात समूहले आगजनी गरेका हुन्।

वीरगन्ज महानगरपालिकाबाट गएको वारुण यन्त्रको सहयोगमा प्रहरी र स्थानीयले आगो निभाए पनि आगजनीबाट दुवै बस पूर्ण रुपमा ध्वस्त भएका छन्। दुवै बस सर्लाहीको मलंगवानिवासी मनमोहन साहको रहेको प्रहरीले जनाएको छ। बसमा आगजनी गर्नेको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

‘घटनाबारे अनुसन्धान गरीरहेका छौं’, पर्सा प्रहरीका डिएसपी अनन्तराम शर्माले भने, ‘सर्लाहीका मनमोहन साह बसका साहु रहे पनि बाराको प्रसौनी गाउँपालिकाका श्रवण गुप्ताले २ वर्षदेखि भाडामा सञ्चालन गर्दै आएका थिए, कसले र किन आगजनी गरेको हो अनुसन्धान भइरहेको छ।’

दुवै बस वीरगन्ज–मलंगवा रुटमा चल्थे। बस सञ्चालक सर्लाहीको मलंगवाको टावरचोक निवासी साहले बाराको प्रसौनी गाउँपालिकाका गुप्तालाई २०७४ माघमा सम्झौता गरेर दुवै बस मासिक २ लाख ७० हजारमा भाडामा दिएका थिए।

वीरगन्जको सिटिजन बैंकमा घरजग्गा राखेर फाइनान्स गरी करिब १ करोड ५ लाखमा साहले बस निकालेका थिए। थप ९ लाख खर्च गरेर गुप्तासँग भाडामा दिने सम्झौताअनुसार जिम्मा लगाइएको साहले बताए। १४ महिनादेखि भाडा नदिएपछि गुप्ताविरुद्ध ३ महिना पहिला जिल्ला अदालतमा साहले मुद्दा दायर गरेका छन्।

‘मुद्दा दायर गरेपछि गुप्ताले दुवै बस बाइपास रोडमा लामो समयदेखि अलपत्र छाडेका थिए’, बस मालिक साहले भने, ‘भाडा असुल गर्न बारम्बार ताकेता गरे पनि गुप्ताले नदिएपछि उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको छु, आज पेसी पनि थियो। एक्कासी आगलागीको खबर आएपछि स्तम्भित छु।’

दुवै बसको इन्स्योरेन्स फेल छ, इन्स्योरेन्स गर्ने जिम्मा गुप्ताकै रहेको थियो। ‘सगरमाथा इन्स्योरेन्स कम्पनीमा दुवै बसको बिमा गरिएको थियो’, बसमालिक साहले भने, ‘गुप्ताले इन्स्योरेन्सको फारम भर्ने बेलामा कम्पनीलाई ५० हजारको चेक दिएको थियो, बाँकी बिमाको रकम एक महिनाभित्र दिने भने पनि बिमा गरेको २ महिना बितिसक्दा पनि रकम जम्मा नगरेपछि इन्स्योरेन्स फेल भएको हो।’

बसमा गुप्ताले नै आगजनी गरेको आंशका साहको छ। उनले भने, ‘गुप्ताले नै बसमा आगजनी गराएका हुन्, उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिने तयारी गरेका छौं। एक दुई दिनभित्र हाम्रो मुद्दाको छिनोफानो हुनेवाला थियो।’ बस पुनः आफ्नो जिम्मामा आउने खबर पाएर गुप्ताले नै बसमा आगजनी गरेको साहको आरोप छ।

प्रतिक्रिया दिनुहोस्