संखुवासभामा भीषण बाढीसँगै पहिरो, विभिन्न आयोजनामा करोडाैं क्षति



संखुवासभा : सोमबार साँझदेखिको झरीका कारण अरुण नदीमा बाढी आएपछि संखुवासभाका विभिन्न आयोजनामा क्षति पुगेका छन्। क्षतिका कारण करोडौंको क्षति भएको जनाइएको छ।

जिल्लाका उत्तरी भेगमा मकालु, चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकाका विभिन्न भागहरुमा ठूलो क्षति पुर्‍याएको छ। बाढी र पहिरोको कारण हालसम्म कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

वर्षासँगै झरेको पहिरोले सोमबार साँझ मकालु गाउँपालिका–५, नुममा स्थानीय अजित राईको घर पुरेको छ। वर्षासँगै झरेको माटोको ढिस्कोले घरमा क्षति पुर्‍याएको हो। अरुण तेस्रो जलविद्युत्त परियोजनाको दुई एक्स्काइभेटर पुरिएका छन्।

वर्षाले मकालु गाउँपालिका–३ स्थितमा रहेको निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको ड्यामसाइटमा ठूलो क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय एक्स्काभेटर–२, बुमर मेसिन–१, लोडर–१, ट्याक्टर–१ कम्प्रेसर मेसिनलगायत निर्माण सामग्री र उपकरण पुरिएका छन्।

त्यसैगरी फयाक्सिदा डयामसाइटको पारिपटिट नयाँबस्तीमा खाँदबारी–किमाथांका सडकखण्डमा सञ्चालनमा रहेको रौता कन्ट्रक्सनको एक्स्काभेटर बाटोबाट अन्दाजी ३० मिटर तल झरेर अड्किएको अवस्थामा भेटिएको छ।

चिचिला गाउँपालिका–४ मा रहेको खाँदबारी–किमाथांका सडकखण्डको सुम्मा भिरदेखि कप्ताने भन्ने ठाउँसम्म अन्दाजी ३ किलोमिटर दूरीको सडक खण्डमा अवरोध भएका कारण उत्तरी क्षेत्रको नुम, गोला र किमाथाङ्का जाने गाडी पूर्ण रुपमा बन्द भएको छ । सदरमुकाम खाँदबारीबाट एकदिनको पैदल दूरीमा रहेको यस क्षेत्रमा बिजुली पनि बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्