बेनी नगरपालिकाको ५३ करोडको बजेट प्रस्ताव, पुरानै कार्यक्रम दोहोरिए



म्याग्दी : बेनी नगरपालिकाले आगमी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार सम्पन्न पाँचौ नगरसभामा नगरप्रमुख हरिकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । मेयर श्रेष्ठले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरसभाबाट बहुमतले पारित गरेको छ ।

नीति तथा कार्यक्रम पारित भएसँगै नगर उपप्रमुख सञ्जु बरुवालले आगामी आर्थिक वर्षका लागि ५२ करोड ९५ लाख ९८ हजार रुपियाँ बरावरको बजेट नगरसभामा प्रस्तुत गरेकी छन् ।आन्तरिक आय ३ करोड ३० लाख,वित्तिय समानीकरण १३ करोड ३६ लाख,९५ हजार,सशर्त अनुदान २४ करोड९९ लाख,राजश्व बाँडफाँड ९ करोड १७ लाख ३ हजार,सडक बोर्ड नेपालबाट ४० लाख,आवको अल्या २ करोड गरी ५२ करोड ९५ लाख,९८ हजार बजेट प्रस्ताव गरिएको छ ।

नगरप्रमुख श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका अधिकांश पुरानै कार्यक्रमहरु दोहोरिएका छन् । नीति तथा कार्यक्रमप्रति कार्यपालिकाका सदस्यहरुले आलोचनात्मक टिप्पणी सहित पारित गरेका छन् ।

संघिय सरकारको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा सँग तादाम्यता मिलाई नगरको आर्थिक समृद्धिका क्षेत्रको विकासका लागि प्राथमिकता दिने,नगरपालिकाको केन्द्र देखि वडा कार्यालय सम्मको सडकलाई स्तरोन्नती गर्न प्राथमिकतामा राखिने,नगरभित्रका धार्मिक एवम् पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धनमा टेवा पु-याउने नीति नगरपालिकाले लिएको छ ।

यसै गरी कृषि तथा पशुपालन क्षेत्रको व्यवसायिकरण गर्ने,नदी,खोला,ताल तथा जलाधार संरक्षण गरी पर्यावरणीय सन्तुलन कायम गर्ने नीति लिएको छ । नगरपालिकाले आन्तरिक स्रोतको पहिचान गरी उचित व्यवस्थापन गरी आन्तरिक स्रोत बढाउने, सम्पत्ति करलाई राजश्वको मुल आधारको रुपमा विकास गर्ने, कर बक्यौतालाई असुल गर्न तिव्रता दिने,घरवहाल करलाई व्यवस्थित गर्ने,कृषि तथा पशुजन्य उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गर्ने,एक वडा एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिने नगरपालिकाले नीतिमा समेटेको छ । 

नगरसभामा मेयर श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सामाजिक,वातावरण र विपद् व्यवस्थापन,पूर्वाधार विकास,सुशसान तथा सेवा प्रवाह र अनुगमन तथा मूल्याङकनलाई प्राथमिकतामा राखिएको छ ।

मेयर श्रेष्ठले नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नगरसभाका सदस्यहरुले छलफल गरी सर्वसम्मत रुपमा पारित गरेका छन् । नगरपालिकालाई समृद्ध बनाउन नीति तथा कार्यक्रमलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सवै पक्षको सहयोग र साथ आवश्यक पर्ने मेयर श्रेष्ठले बताए । गाउँसभाका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदैै मेयर श्रेष्ठले कतिपय छुटेका विषयहरुलाई नीति तथा कार्यक्रममा समावेश गरिने बताए ।

आगमी असार २५ गते वस्ने नगरसभाबाट बजेटलाई पारित गरिने कार्यक्रम रहेको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए ।

यता बेनी नगरपालिका २ ज्यामरुककोटका जनप्रतिनिधिहरुले भने नगरसभब वहिष्कार गरेका छन् । नगरपालिकादेखि वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको स्तरोन्नतिका लागि बजेट नदिइएको भन्दै नगरसभा वहिष्कार गरेको वडा सदस्य चन्द्रवहादुर कुवँरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्