रोनाल्डो बालोन डी‘ओर नजिक !



काठमाडौं : स्पेनिस मिडिया मार्काले इटालियन क्लब युभेन्टसका पोर्चुगिज स्ट्रार क्रिस्टियानो रोनाल्डो यस सिजनको बालोन डी‘ओर नजिक रहेको बताएको छ। अघिल्लो सिजन स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्ट आएका रोनाल्डो पाँच पटकका बालोन डी‘ओर विजेता हुन्।

रोनाल्डोले इटाली आएपछि युभेन्टसलाई दुईवटा उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए। युभेन्टसलाई घरेलु लिग सिरी ‘ए’का साथै सुपरकोपा इटालियाको अवार्ड दिलाएका थिए। साथै रोनाल्डोले यो सिजन आफ्नो राष्ट्र पोर्चुगललाई युइएफए नेशन्स लिगको उपाधि दिलाएका थिए।

पोर्चुगलले स्विट्जरल्याण्ड र नेदरल्याण्डलाई पाखा लगाउँदै उपाधि जितेको थियो। यद्यपि, ३४ वर्षीय रोनाल्डोको टोली युभेन्टस नेदरल्याण्ड्सको आयाक्ससँग च्याम्पियन्स लिगमा हार व्यहोर्दै बाहिरिएको थियो।

तर, अन्तर्राष्ट्रिय टुर्नामेन्टको सुरुवाती खेलमा ह्याट्रिक गर्दै आएका रोनाल्डोले सन् २०१८ को विश्वकपको सुरुवाती खेल, युरोपियन च्याम्पियनसिपको सुरु खेल र युइएफए नेशन्स लिगको पहिलो खेलमा ह्याट्रिक गरेका थिए। उनले सन् २०१८–१९ को सिजनमा सिरी ‘ए’ मा २१ गोल गरे।

यसै कारण पनि रोनाल्डो बालोन डी‘ओरको अवार्ड नजिक पुगेको मार्काको ठम्याइ छ। सन् २००८ देखि रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनल मेस्सीले बालोन डी‘ओरमा एकाधिकार जमाएका थिए। तर, सन् २०१८ मा क्रोयसियाका लुका मोड्रिकले दुवैको एकाधिकार तोडिदिए। आफ्नो देशलाई रसिया विश्वकपको उपविजेता बनाएका रियल मड्रिडका मोड्रिकले बालोन डी‘ओर हात पारे।

एक दशकदेखि फुटबल जगतमा राज गर्दै आएका मेस्सी र रोनाल्डोले समान पाँच–पाँच पटक यस अवार्ड उचालेका छन्। अब सन् २०१९ को बालोन डी‘ओर जित्दै यी दुवै खेलाडी अवार्ड संख्या थप्ने योजनामा लागेका छन्।

बालोन डी‘ओरको दौडमा थुप्रै खेलाडी छन्। जसमा, इङ्लिस क्लब लिभरपुल तथा नेदरल्याण्ड्सका स्टार भर्जिल भान डिक पनि एक हुन्। उनले आफ्नो टोली लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका थिए।

लिभरपुलका अर्का स्टार साडियो माने, जसले आफ्नो राष्ट्र सेनेगललाई अफ्रिका कप अफ नेशन्सको फाइनलमा पुर्याएका छन्। सेनेगलले आज राति उपाधिका लागि अल्जेरियासँग खेल्नेछ। यस खेल सेनेगलले जितेमा मानेको बालोन डी‘ओर दौड अझ बलियो बन्नेछ।

यता, रोनाल्डोका खास प्रतिद्वन्द्वी मेस्सी पनि यस दौडमा अघि नै छन्। बार्सिलोनालाई ला लिगाको उपाधि जिताएका मेस्सीले यस अवार्ड जित्न सक्ने धेरैले आँकलन गरेका छन्। तर, यी सबै बालोन डी‘ओर प्रतिस्पर्धीबीच मार्काले रोनाल्डोको सम्भावना धेरै भएको उल्लेख गरेको छ।

पोर्चुगलका कप्तान रोनाल्डोले भने आफू व्यक्तिगत अर्वाडबाट प्रेरित भएको बताएका छन्। ‘म पुरस्कारको विषयमा एक जुनुनका साथ रहन सक्दिँन,’ उनले भने,  ‘मेरा तथ्यांक लाजमर्दा छैनन्, यस वर्ष मैले तीन उपाधि जितेको छु। र, मैले नेशन्स लिगमा पनि राम्रो प्रदर्शन गरेको छु। त्यहाँभन्दा म धेरै के गरुँ ?’

प्रतिक्रिया दिनुहोस्