श्रीमती र सासुमाथि खुकुरी प्रहार



पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका–१ पेनधारामा एक व्यक्तिले आफ्नै श्रीमती र सासूमाथि खुकुरी प्रहार गरेका छन्।

झापाको दमक नगरपालिका–२ मिलडाँडाका जीवन दर्नालले सासु र श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलका अनुसार जीवनको खुकुरी प्रहारबाट उनकी श्रीमती २० वर्षकी सीता दमाई र सासू ५० वर्षकी भीमकला दमाई घाइते भएका छन्।

माइतबाट घर लैजान आएका दर्नालले श्रीमती घर जान नमानेपछि खुकरी प्रहार गरेको पौडेलले जानकारी दिए। पाँच दिन अगाडि श्रीमती लिन दर्लान ससुराली आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

खुकुरी प्रहारबाट भीमकलाको बायाँ हात, बायाँ गालामा र सीताको बायाँ हातमा गम्भीर चोट लागेको उनको भनाइ छ। सीताको अवस्था गम्भीर रहेको पौडेले जानकारी दिए। घाइते दुवैको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापा पठाइएको उनले बताए।

शुक्रबार बिहान करीब ९ बजेको समयमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर दर्नाल फरार भएको पौडेलले बताए। फरार दर्नालको खोजी कार्य भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्