फुट्दै र जुट्दैको श्रृंखलामा राप्रपा : यस्तो छ पूर्वपञ्चहरुको योजना



काठमाडौं : पूर्वपञ्चको पार्टीको रुपमा चिनिने दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच पार्टी एकता भएको छ ।

राप्रपा नेपाल र राप्रपा संयुक्तबीच आज (बुधबार) काठमाडौंको राष्ट्रिय सभा गृहमा एकताको औपचारिक घोषणा भएको हो । तीन जना अध्यक्ष रहने गरी एकता भएको छ । नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने सहमती भएको छ । यस्तै तत्कालिन राप्रपाको झण्डा नै एकीकृत पार्टीको झण्डा राखिने सहमति गरिएको छ । चुनाव चिन्हको सम्बन्धमा भने पछि निर्णय हुनेछ ।

गत शनिबार काठमाडौंको लाजिम्पाट स्थित लप्सी गार्डेन होटलमा बसेको दुवै दलको बैठकपछि पार्टी एकीकरण गर्ने सहमती भयो । पार्टी एकीकरणको सहमतीसँगै १० बुँदे समझादी पत्रमा हस्ताक्षर समेत भएको थियो । सोही समझदारी अनुसार आज औपचारिक कार्यक्रम गरी पार्टी एकता घोषणा गरिएको हो ।

एकता घोषणा समारोहमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द लोहनी र पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलगायतका नेता तथा कार्यकर्ता सहभागि थिए ।

राप्रपाको विधानलाई पार्टीको अन्तरिम विधान मानेर अघि बढने र अगामी ६ महिनाभित्रमा नयाँ विधान बनाउने समेत सहमति भएको छ । सहमतिअनुसार डेढ वर्षमा पार्टीको महाधिवेशन गरिनेछ र त्यतिबेलासम्म थापा, राणा र लोहनी तीनैजना पार्टी अध्यक्ष हुनेछन् । तीनैजना अध्यक्षको हैसियत समान हुने र बैठकको अध्यक्ष्ता पनि त्यही अनुसार गर्ने सहमति भएको राप्रपा अध्यक्ष कमल थापाले जानकारी दिए । साथै उनीहरु तीनैजना रहेको केन्द्रीय सचिवालय गठन गर्ने सहमति भएको छ ।

यता राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र र सबै पक्षलाई चित्त बुझ्ने गरी साझा संस्थाका रुपमा राजसंस्था रहनुपर्ने सैद्धान्तिक मान्यतामा पार्टी एकता भएको बताए । २०७२ मा संविधानसभाबाटै घोषणा भएको संविधानमा मुलुकलाई धर्मनिर्पेक्षता घोषणा गरियो । त्यस अघि नै राजतन्त्रलाई फाल्दै गणतन्त्र घोषणा भएपछि एकीकृत राप्रपाले सनातन हिन्दुधर्म र राजंस्थाको स्थापनाका लागि संघर्ष गर्ने बताईएको छ ।

गत माघ दोस्रो साता एकीकरण गर्ने सहमति भएपनि अन्तिम समयमा आएर रोकिएको थियो । ६ फागुन ०७३ मा राप्रपा समूहहरुको एकता महाधिवेशन भएको थियो भने संसदीय निर्वाचनअघि २२ भदौ ०७४ मा पार्टी विभाजित भएको थियो । राप्रपाको २७ वर्षे इतिहासमा अनेक पटक टुटफुटको श्रृंखला चल्दै आएको छ ।

२०४६ सालमा प्रजातन्त्रको पुनः स्थापनासँगै पूर्व पञ्चहरुमा एक किसिमको खैलाबैला मचियो भने पञ्चायती प्रधानमन्त्री सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पार्टी निमार्णमा जुटे र १५ जेठ २०४७ मा राष्ट्रिय प्रजातन्त्र पार्टी बनाए । तर, नेतृत्वको विवादमा फसेको यो पार्टी शुरुमै दुई टुक्रा भयो । र एउटाको नेतृत्व सूर्यबहादुर थापाले सम्हाले भने अर्कोको लोकेन्द्र बहादुर चन्दले ।

२०४८ को चुनावमा थापाको पार्टीले एक र चन्दको पार्टीले तीन सिट जित्यो । चुनावमा हार व्यार्होनुपरेलगत्तै दुई पार्टीले फेरी एकता गरे । एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी र अध्यक्ष सूर्यबहादुर थापा भए ।

२०५१ सालको मध्यावधी चुनावमा राप्रपाले २० सिट जितेर तेस्रो शक्ति बन्यो । कुनै पार्टीको बहुमत नभएको त्यो बेला मनमोहन अधिकारी नेतृत्वको सरकार ढाल्न अनेक खेल भयो । त्यसमा सहयोगि बनेर राप्रपाले फाइदा उठायो ।

यसैगरी तत्कालिन एमालेको सहयोगमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने । त्यहि सेरोफेरोमा राप्रपा पुनः विभाजित भयो । लगत्तै नेपाली कांग्रेसले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएर सरकार ढाल्यो ।

०५६ सालमा भएको निर्वाचनमा थापा पक्षले ११ सिट जितेर साख बचायो । तर, चन्द पक्षले एक सिट पनि जित्न सकेन । यसले दुई राप्रपालाई फेरी नजिक ल्यायो । र ०५७ साल फागुनमा पार्टी एकता भयो ।

तर, तत्कालिन राजा ज्ञानेन्द्र शाहले ०५८ सालमा शेरबहादुर देउवा सरकार बर्खास्त गरेपछि राप्रपामा पुनः विवाद शुरु भयो । प्रधानमन्त्री बन्ने आश्वासन पाएका लोकेन्द्रबहादुर चन्दले राजाको समर्थन गरे भने थापा भने असन्तुष्ट भए । र राप्रपा फेरी विभाजित भयो ।

यसैगरी सूर्यबहादुर थापाले ०६१ सालमा जनशक्ति पार्टी निर्माण गरे । तर, विभाजित यसैमा सिमित भएन । ०६२ सालमा राजाको कदमलाई समर्थन गर्ने राप्रपा भित्र समूह लिएर कमल थापाले राप्रपा नेपाल नामक पार्टी निर्माण गर्यो । त्यसोत थापा राजा ज्ञानेन्द्रको शासन कालमा गृहमन्त्री समेत बने । योसँगै पूर्वपञ्चका तीनवटा पार्टी बन्यो ।

०६४ सालको संविधानसभाको निर्वाचनमा राप्रपाले ८, राप्रपा नेपालले ४ र जनशक्ति पार्टीले तीन सिट जित्यो भने ०६९ सालमा राप्रपा र जनशक्ति पार्टीबीच पार्टी एकता भएर राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी निर्माण भयो । पछि त्यसको नाम राप्रपा नै बन्यो । राप्रपाले गणतन्त्र स्वीकार गर्यो । यता गणतन्त्र अस्वीकार गरेको राप्रपा नेपाल एकतामा सहभागी भएनन् ।

०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपाल समानुपातिक २४ र एक मनोनितसहित २५ सिट जितेर चौथो ठूलो दलको रुपमा उदायो । राप्रपाले १३ सिट जित्यो ।

०७३ मा राप्रपा नेपाल र राप्रपाबीच एकता भयो । एकता महाधिवेशनबाट कमल थापा अध्यक्ष निर्वाचित भए । यति हुँदा पनि जुट्ने र छुट्ने सिलसिला भने रोकिएन ।

लामो कसरतपछि राप्रपा र राप्रपा संयुक्त बीच एकता, राजसंस्थासहितको प्रजातन्त्र

०७३ चैतमा डा. प्रकाशचन्द लोहनी राप्रपाबाट बाहिरिएर एकीकृत राप्रपा राष्ट्रवादी नामको नयाँ दल बनाए । त्यसलगत्तै केपी शर्मा ओली सरकारलाई ढालेर बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागि हुने वा नहुने विवाद भएपछि राप्रपा फेरी फुट्यो ।

२२ साउन २०७४ मा पशुपतिशम्शेर राणाले राप्रपा प्रजातान्त्रिक नामक पार्टी बनाएर सरकारमा सहभागि भए । ०७४ सालमा भएको निर्वाचनमा राप्रपा नामका सबै पार्टी पराजित भए । राप्रपाले एक सिट जित्यो भने अन्य शून्य भए । त्यसपछि फेरी एकताको पहल शुरु भयो ।

गत वर्षनै तीन वटै दलहरुबीच एकता गर्ने भनिएता पनि सम्भव भएन । राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादी एकता भएर राप्रपा संयुक्त बन्यो । त्यही राप्रपा संयुक्त र राप्रपा नेपालबीच अहिले पार्टी एकता भएको छ । अब यो एकता कति समय टिक्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

पूर्वपञ्चको पार्टी भनेर चिनिने राप्रपाको बिगत टुट्ने, फुट्ने र जुट्ने रहेको छ । सनातन हिन्दु धर्म, राजसंस्थालाई बोक्ने राप्रपा एकीकरणले आउने दिनमा कस्तो राजनीतिक परिवर्तन ल्याउँछ त्यो सबैको चासोको विषय बनेको छ ।

गत शनिबार दुई पार्टीबीच भएको पार्टी एकीकरणको १० बुँदे सहमति यस्तो छ :–

प्रतिक्रिया दिनुहोस्