अब विदेशबाट आउने नेपाली र विदेशी नागरिकले पालना गर्नुपर्छ यस्ता शर्तहरु



काठमाडौं : विदेशबाट आउने नेपाली र विदेशी नागरिकले विभिन्न शर्त पालना गर्नुपर्ने भएको छ । शुक्रबार अध्यागमन विभागले सूचना जारी गर्दै विदेशबाट आउने नागरिकलाई नेपाल प्रवेशअघि विभिन्न शर्त पूरा गर्नुपर्ने जनाएको हो ।

विभागले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै नेपाल प्रवेशमा कडाइ गरेको हो । विभागले कुनै पनि देशका नागरिकलाई नेपाल प्रवेश गर्न निषेध गरेको छ । कुनै पनि विदेशी नागरिकको लागि नेपाल प्रवेशको लागि ‘अन अराइभल भिसा’ निलम्बन गरिएको सूचनामा उल्लेख छ ।

पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको ‘स्वाब’ परीक्षण रिपोर्ट पेश गर्नुपर्ने छ । गैरआवासीय नेपालीका हकमा पनि यो प्रावधान लागू हुने विभागले जनाएको छ ।

शनिबारदेखि नेपाल आउने सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गरेको दिनबाट १४ दिनसम्म अनिवार्य रुपमा ‘होम क्वारेन्टाइन’ मा बस्नुपर्ने विभागले प्रष्ट पारेको छ ।

यस्तै, विदेशी कुटनीतिक नियोगका पदाधिकारी एवं कर्मचारी नेपाल प्रवेश गर्दा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने जनाइएको छ ।

स्थलमार्गबाट तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ भने उनीहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमात्र नेपाल भित्रिने एकमात्र नाकाका रुपमा तोकिएको विभागको भनाइ छ ।

विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार शनिबार मध्यरातदेखि आगामी अप्रिल ३० सम्मका लागि यी प्रावधान लागू हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्