उपभोक्ता समितिको भुक्तानी दिलाउन धर्नामा बस्न तयार छु : मुख्यमन्त्री राउत



जनकपुरधाम : आज (शुक्रबार) बसेको प्रदेश नं.२ कोे प्रदेशसभा बैठकमा मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता समितिको भुक्तानी नभए आफै धर्नामा बस्न तयार रहेको बताएका छन् ।

उपभोक्ता समितिको भुक्तानी कर्मचारीको हेल्चक्रयाँइका कारण अहिलेसम्म हुन नसकेको उनले जिकिर गरे । बैठकमा प्रदेशसभा सदस्यहरुले उपभोक्ता समितिहरुले गरेका विकास निर्माणका कामको भुक्तानी हुन नसक्नुमा प्रदेश सरकार जिम्मेवार रहेको आरोप लगाएपछि उनले जवाब दिदंै आफै धर्नामा बस्न तयार रहेको बताए ।

उनले प्रदेश भरीमा उपभोक्ता समितिहरुले गरेको कामको भुक्तानीका लागि आफूले ईमान्दारिताका साथ प्रयास गरिरहेको बताए । उनले भने, ‘सदनमा प्रदेश सरकारमाथि नै प्रश्न उठेकोले सबैले आफुलाई साथ दिए भुक्तानीका लागि जनकपुरधामको कुनै पनि चोकमा धर्ना बस्न आफु तयार छु ।’ उनले प्रदेशसभा, मन्त्रीपरिषद समेतबाट भुक्तानीका लागि निर्णय भएपनि भुक्तानी हुन नसक्नुमा प्रदेश सरकार दोषी नरहेको दावी गरे । उनले भने, ‘मन्त्रीपरिषदले निर्णय गर्ने हो, भुक्तानी होइन । ’

उनले कर्मचारीहरुकै असहयोगकै कारण भुक्तानी अहिलेसम्म हुन नसकेको फेरी दोर्होयाए । उनले संघियता रुचाउन नचाहनेहरु प्रदेश सरकारलाई असफल पार्न लागि परेको आरोप लगाए । बैठकमा प्रदेशसभा सदस्य उपेन्द्र महतोले प्रदेश सरकारको मन्त्रीपरिषदका सदस्यहरुकै कारण प्रदेश भेन्टिलेटरमा पुगी सकेको आरोप लगाए ।

उनले भने, ‘अहिले प्रदेशको नाम र राजधानी तोक्ने कुरो चलिरहेको छ तर प्रदेशलाई भेन्टिलेटरबाट बाहिर निकाल्नु पहिले आवश्यक छ ।’ उनले अगाडी भने, ‘विश्वभरी फैलिरहेको कोरोनाबाट १ लाख व्यक्ति प्रभावित छन् तर प्रदेश सरकारले फैलाएको पेमेन्ट भाइरसबाट ३ लाखभन्दा बढी व्यक्ति प्रत्यक्ष प्रभावित भएका छन् ।’ आजको प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानी तोक्न गोप्य मतदानका लागि प्रतिवेदन समेत प्रस्तुत गरिएको छ ।
नामाकरण र राजधानी अध्ययन विशेष समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गर्दै प्रदेशसभा सदस्य परमेश्वर साहले गोप्य मतदानका लागि प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

समितिमा राजधानीका लागि बाँकी रहेको ३ वटा प्रस्ताव र नामाकरणका लागि रहेको ४ वटा प्रस्तावमाथि निर्वाचनका लागि प्रतिवेदन प्रस्तुत गरिएको हो । प्रदेशसभाको अर्को बैठक चैत १ गते दिउँसो १ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्