जनकपुर-जयनगर रेल सञ्चालन हुन्छ : मन्त्री नेम्वाङ्ग



जनकपुरधाम : भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ्गले यस आर्थिक वर्ष भित्र जनकपुर-जयनगर रेल सञ्चालन हुने बताएका छन् ।

शुक्रबार जनकपुर-जयनगर रेल्वेको निरीक्षण गर्न जनकपुरधाम पुगेका उनी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आगामी ३-४ महिना भित्र रेल सञ्चालनमा ल्याएरै छोड्ने प्रतिवद्धता जनाए ।
जयनगरबाट कुर्थासम्म ३५ किलोमिटरमा यसै आर्थिक वर्षदेखि रेल गुड्ने बताए ।

उनले भने,‘रेलमार्ग तयार भइसकेको छ, विदेशबाट दक्ष कर्मचारी मगाएर भएपनि पहिलो चरणमा कुर्थासम्म, दोस्रो चरणमा बर्दिबाससम्म र त्यसपछि निजगढसम्म रेल गुड्ने छ ।’
‘रेल गुडाउन ५-७ जनाको प्राविधिक टोली मात्र भारतबाट ल्याइनेछ, दक्ष प्राविधिक तयार भइसकेपछि भारतीय टोली फर्किनेछ । अन्य कर्मचारी नेपाली नै रहने छन् ।’ कर्मचारी व्यवस्थापन गर्न समस्या नहुनेसमेत उनले बताए ।

उनीसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, रेल्वे विभागका महाप्रबन्धक बलराम मिश्रलगायतका व्यक्तिहरु निरीक्षण टोलीमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्