हुलाकी सडकको निर्माणमा लापरबाही भएको देखेपछि आक्रोशित बने मन्त्री नेम्वाङ



जनकपुरधाम : भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले हुलाकी सडकको निर्माणमा गुणस्तरहीन कार्य गर्ने गराउने सबैलाई कानुनी दायरामा ल्याई कारवाही गर्ने बताएका छन् ।

आज प्रदेश नम्बर २ को धनुषा जिल्लामा हुलाकी सडकको अनुगमन गर्न पुगेका मन्त्री नेम्वाङले काममा लापरबाही देखेपछि आक्रोशित बनेका हुन् । जनकपुर–कमला खण्डको हुलाकी सडकको काममा लापरबाही र काममा गुणस्तरहीन सामाग्री देखिएपछि मन्त्री नेम्वाङले सम्बन्धित निकाय र ठेक्केदारलाई सचेत गराएका हुन् ।

सडकमा अनावश्यक वालुवा गिटी थुपारेको, पिच ढलान मापदण्डविपरीत भेटेपछि मन्त्री नेम्वाङले जङ्गिदै भने, ‘यस्ता काम गर्ने ठेक्केदारको भुक्तानी तुरुन्त रोक्नुस । सडक विभागको सम्बन्धित कर्मचारी तथा डिभिजनल इन्जिनियरले तुरुन्त रिपोर्ट बुझाउनुस ।’ उनले थपे, ‘यसमा दोषी जोकोही भएपनि छुट पाउनेवाला छैन । सबैलाई कारवाही गर्छु ।’

केही दिन अघि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले हुलाकी सडकमा गुणस्तरहीन काम भइरहेको भन्दै कारवाहीको माग गरेका थिए । त्यसपछि यस विषयले चर्चा पाएपछि नेकपा प्रदेश नम्बर २ कमिटीको विशेष पहलमा मन्त्री नेम्वाङ हुलाकी सडकसहित अन्य पूर्वाधार निर्माण कार्यको अनुगमनमा आएका हुन् । नेकपा प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलको पहलमा अनुगमन भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्