दिगोपनाको अवधारणा अनुसार वन व्यवस्थापनको काम गर्न निर्देशन



कैलाली : सुदूरपश्चिम प्रदेशको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले कैलाली र कञ्चनपुरमा वैज्ञानिक वन व्यवस्थापन लागू भएका वनको स्थलगत अनुगमन गरेको छ ।

वन व्यवस्थापन लागू भएका वन क्षेत्रमा वैज्ञानिक वनको अवधारणा अनुसार सोसम्बन्धी काम भइरहेको छ कि छैन भन्ने उद्देश्यले सो समितिले स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा प्रदेशको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले पारदर्शीता, इमान्दारिता र दिगोपनाको अवधारणा अनुसार वन व्यवस्थापनको काम गर्न निर्देशन दिएको जनाएको छ ।

समितिका सभापति हर्कबहादुर कुवँरले वैज्ञानिक वन व्यवस्थापन लागू भएका वनमा वैज्ञानिक वनको अवधारणा अनुसार काम भइरहेको पाइएको बताए । उनले कैलाली र कञ्चनपुरमा ३ दिन लगाएर वैज्ञानिक वन लागू भएका क्षेत्रमा गएर समितिले स्थलगत अनुगमन गरेको बताए ।

अनुगमनका क्रममा केही वनमा व्यवस्थापनको कमजोरी देखिएको बताउँदै कुवँरले भने, “धेरै जसो वनमा वैज्ञानिक वनको अवधारणा अनुसार संरक्षण भइरहेको पाइएको छ ।” उपभोक्ताले वनको आम्दानीबाट बाटो, पुल, विद्यालय, खानेपानी, आयआर्जनलगायत विकास निर्माणका क्षेत्रमा लगानी गरेको जनाइएको छ ।

संघीय सरकारको नीतिअनुरुप लागू भएको वैज्ञानिक वन व्यवस्थापनको अवधारणालाई प्रदेश सरकारले सघाउने समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्