यी ब्लड ग्रुप भएका व्यक्तिहरुलाई कोरोनाको उच्च जोखिम



काठमाडौं : विश्वव्यापी त्रास फैलिरहेको कोरोना भाइरसका विषयमा चिनियाँ मेडिकल अनुसन्धानकर्ताहरूले मानिसको रगत समूहका आधारमा कोरोना भाइरसको संक्रमण फरक -फरक हुने निष्कर्ष निकालेका छन् ।

उनीहरुका अनुसार ब्लड ग्रुप ए भएका मानिसमा कोरोनाको संक्रमण बढी र छिटो हुने अध्ययनले देखाएको छ । साथै ब्लड ग्रुप ए भएका मानिसलाई कोरोना लागि सकेपछि पनि गम्भीर अवस्था हुने अध्ययनले देखाएको छ । ब्लड ग्रुप ओ भएका व्यक्तिहरुलाई संक्रमण थोरै हुने अध्ययनको निष्कर्ष छ ।

वुहान विश्वविद्यालय अस्पतालको सेन्टर फर एभिडेन्स बेस्ड एन्ड ट्रान्सलेसनल मेडिसिनको सहकार्यमा उक्त अनुसन्धान २,१७३ व्यक्तिमा अध्ययन गरिएको थियो । यीमध्ये २०६ जनाको मृत्यु कोरोना भाइरसका कारण भएको थियो ।

२०६ जनाको रक्त समूह छुट्याउँदा ८५ जनाको रक्त समूह ए थियो भने ५२ जनाको रक्त समूह ओ थियो । अर्थात रक्त समूह ए करिब ४१.२६ प्रतिशत र उक्त समूह ओ करिब २५ प्रतिशत मानिसको मृत्यु भएको थियो । उनीहरु हुबेई प्रान्तका तीन अस्पतालमा भर्ना थिए ।

ब्लड ग्रुप ए का मानिसहरूले संक्रमण नहोस् भनेर व्यक्ति सावधानीमा धेरै नै ध्यान दिनु जरूरी भएको र उक्त अध्ययनमा लेखिएको छ,‘यो रक्त समूहका बिरामीलाई उपचारका क्रममा पनि विशेष निगरानी गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्