मधेश प्याबसन आवद्ध धनुषाका संस्थागत विद्यालय बन्द



जनकपुरधाम : विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको प्रभावलाई मध्यनजर गर्दै मधेश निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपालले आफ्नो संगठनसँग आवद्ध रहेका धनुषा जिल्लाका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

मधेश निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल धनुषाका अध्यक्ष सुजित मिश्रको अध्यक्षतामा आज (बिहीवार) बसेको बैठकले संगठनसँग आवद्ध रहेका सबै विद्यालयहरुलाई बन्द गर्न आग्रह गरेको हो ।

यो निर्णयसँगै आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि मधेश प्याबसनसँग आवद्ध विद्यालयहरुमा परीक्षा लगायत पठनपाठनको क्रियाकलाप समेत बन्द रहने अध्यक्ष मिश्रले बताए ।

धनुषा जिल्लाभरी मधेश प्याबसनसँग ३१ वटा संस्थागत विद्यालयहरु आवद्ध रहेका छन् भने जनकपुरमा मात्रै २५ विद्यालय यस संगठनभित्र आवद्ध छन् ।

यसअघि आजदेखि हुने भनिएको एसइई परीक्षा र कक्षा आजठको परीक्षा समेत कोरोनाका कारण स्थगित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्