कोरोना विशेष अस्थायी अस्पताल आजबाट सञ्चालनमा



चितवन : कोरोनाभाइरस संक्रमित व्यक्तिको उपचारका लागि निर्माण गरिएको कोरोना विशेष अस्थायी अस्पताल आज (शुक्रबार)देखि सञ्चालनमा आएको छ ।

भरतपुरको प्रदर्शनी स्थलमा ७२ घण्टामा निर्माण भएको कोरोना विशेष अस्थायी अस्पतालमा ५० बेडको क्षमतामा आज ओपीडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिए ।

‘७० बेडको अस्पताल निर्माण तयारी भएको छ । अहिले ओपीडी सेवा सञ्चालन हुनेछ । त्यसपछि आइसोलेसन व्यवस्था गरिनेछ । ओपीडी सञ्चालनपछि आईसीयू सेवा पनि सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ ।’ प्रमुख दाहालले भने ।

आज १४ जना जनशक्ति अस्पतालमा खटिनेछन् । बिरामीको चाप र आवश्यकताअनुसार जनशक्ति र उपकरणहरू थपिँदै लैजाने कोरोना नियन्त्रण कार्यदलका प्रवक्ता डाक्टर भोजराज अधिकारीले बताए ।

कार्यदलको बैठकले शुक्रबारबाट चितवनमा सञ्चालन हुँदै आएका हाटबजार र केबुलकार पनि बन्द गर्ने निर्णय गरेको कार्यदलका सदस्य नारायण अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्