‘यस्तो अवस्था त भूकम्पको बेला पनि भएको थिएन’



काठमाडौं : कोरोनाभाइरसको त्रास र सन्त्रासले यतिबेला काठमाडौं उपत्यका सुनसान हुँदै गइरहेको छ । अहिले कोरोनाभाइरस (कोविड–१९) को त्रास र सन्त्रास विश्वभर छ । त्यस त्रासबाट नेपाल पनि अछुतो छैन । अहिले पनि बसपार्क, कोटेश्वर, कलंकीमा पुग्ने हो भने घर फर्किनेहरुको भिड छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन भने कोरोनाबाट बच्न घर फर्किने थालेका छन् सर्वसाधारण ।

विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले पनि नेपाल कोरोनाको उच्च जोखिममा रहेको जनाइसकेको छ । पछिल्लो समय सरकारले पनि सतर्कता अपनाउन महत्वपूर्ण निर्णयहरु गरेको छ । शैक्षिक संस्थाका पठनपाठन बन्द हुनेदेखि विभिन्न माध्यमिक तह तथा विश्वविद्यालयका परीक्षा सबै स्थगित गरिएका छन् ।

यसैगरी सरकारले १५ बुँदे अपिल जारी गर्दै विभिन्न सावधानी अपनाउन नागरिकलाई अपिल गरेको छ । सभा, सम्मेलन भोज भतेरजस्ता २५ जनाभन्दा बढी एकै ठाउँमा भेला नहुन समेत आग्रह गरेको छ ।

योसँगै काठमाडौंबाट बाहिरिनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ । त्यसोत हिजो (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र र जनताको नाममा विशेष सम्बोधन गर्दै लामो दूरीको सार्वजनिक यातायात सेवा (चैत १० गते) अर्थात सोमबारदेखि सञ्चालनमा रोक लगाएका छन् ।

त्यसोत बिहानदेखि रातिसम्म व्यस्त हुने सिभिल मल, सिटी सेन्टर, असन, लबिम मल, छाया सेन्टर, विशाल बजार, केएल टावर, वर्ल्ड ट्रेड सेन्टर, बिजी मल, कान्तिपुर मल, आइप्लेक्स मललगायत ठूला सपिङ सेन्टर र मलहरू खाली देखिएका थिए भने सधैँ जसो भिडभाड भइरहने न्यूरोड, असनमा यतिवेला चहलपहच पातलिँदै गएको छ ।

विगत १० वर्षदेखि न्यूरोडमा ब्यागको व्यापार गर्दै आएकी अनिता जोशी व्यापार नभएकाले पसल खोल्ने र बन्द गर्ने काम मात्र भएको बताउँछिन् ।

१० वर्षको अवधिमा यस्तो अवस्था कहिले नभएको बताउँदै जोशी भन्छिन्–‘यस्तो त भूकम्पको बेला पनि भएको थिएन । कोरोनाभाइरसले व्यापारमा मात्र क्षति गरेको छैन मानिसहरुमा यसको ठूलो त्रास छ ।’

त्यस्तै न्यूरोडमै लामो समयदेखि स्पोर्टस्का सामानको व्यापार गर्दै आएको प्रकाश श्रेष्ठ भन्छन्–‘ कोरोनाका कारण व्यापारमा ७५ प्रतिशत गिरावट आएको छ । स्पोर्टस्का सामान बढी विद्यार्थी र खेलाडीलाई चाहिने हो । तर, सरकारले विद्यालयहरु बन्द गर्ने घोषण गरिसकेपछि धेरै विद्यार्थी आ–आफ्नो घर गइसके । कसरी व्यापार हुन्छ ?’

यसैगरी १४ वर्षदेखि लुगाको व्यापार गर्दै आएका कृष्ण मित्तलले अहिले व्यापार ६० प्रतिशत घटेको बताउँछन् । ‘हाम्रो व्यापार कपडाको हो । अहिले विहेको पनि सिजन छैन । त्यसमाथि कोरोनाले व्यापार नै खाइदियो’ उनले भने ।

उनले अहिले त व्यापारसँगै आफूलाई पनि जोगाउनु पर्ने अवस्था रहेको बताए ।

त्यस्तै कोरोनाका कारण दैनिक हजारौँको संख्यामा मानिसहरू बाहिरिन थालेपछि राजधानी काठमाडौं सुनसानजस्तै बन्न थालेको छ । विद्यालय, विश्वविद्यालय, सार्वजनिक सभासम्मेलन, सिनेमा हल बन्द गर्न, २५ जनाभन्दा बढी भिडभाड नगर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सरकारले आग्र काठमाडौं उपत्यकामा मानिसहरूको आवतजावत पातलिँदै गएको हो ।

काठमाडौंमा भन्दा गाउँमा सुरक्षित हुने भन्दै पढाइका लागि डेरा गरी बसेका विद्यार्थी, शिक्षण पेसासँग सम्बन्धित, विभिन्न काममा आबद्ध र साना व्यवसायीहरूसमेत धमाधम गाउँ फर्किन थालेका हुन् ।

ट्राफिक प्रहरीका अनुसार पछिल्ला तीन दिनमा ३ लाख २ हजार २ सय काठमाडौंबाट बाहिरिएका छन् । शुक्रबार साँझ ६ बजेसम्म ९८ हजार ५ सय १७ जना बाहिरिए । काठमाडौं भित्रिनेको संख्या १८ हजार ९ सय छ  । बिहीबार १ लाख ८ हजार ४ सय ५८ राजधानीबाट बाहिरिएका थिए भने १८ हजार ५ सय ५४ जना भित्रिएका थिए । बुधबार ९५ हजार २ सय ४७ बाहिरिँदा १७ हजार ४ सय ४१ जना काठमाडौं भित्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्