अफगानिस्तान भिडन्तमा २८ जनाको मृत्यु



अफगानिस्तान : अफगानिस्तानमा आज भएको झडपमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जना सुरक्षाकर्मी र २४ जना लडाकू रहेको अधिकारीहरुले जनाएका छन् ।

देशको उत्तरी कुन्दुज प्रान्तमा भएको घटनामा परी अरु २६ जना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छन् । प्रवक्ता इश्मातुल्लाह मुरादीले सिन्ह्वालाई बताए अनुसार तालिबान लडाकूले सुरक्षाचौकीमा आक्रमण गरेका थिए ।

देशको कुन्दुजसँग जोडिएको छिमेकी प्रान्त बाघलान र ताखामा पनि भिडन्तका घटना धेरै हुने गरेका छन् । गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र तालिबान लडाकू समूहबीच शान्ति सम्झौता भए पनि अफगानिस्तानमा हिंसात्मक घटना रोकिएका छैनन् ।

खासगरी अफगानिस्तानका जेलमा बन्दी रहेका तालिबान समूहका पाँच हजार लडाकूलाई बिनाशर्त मुक्त गर्न अफगान राष्ट्रपति अस्रफ घानी सहमत नभए पछि पुनः हिंसात्मक झडप जारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्