आपूर्ति बढ्दासमेत तरकारीको मूल्य बढ्यो



काठमाडौं : काठमाडौं उपत्यकामा गएको एक महिनाको तुलनामा दैनिक उपभोग्य तरकारीको मूल्य बढेको छ । तरकारीको आपूर्ति बढे पनि माग अत्यधिक भएकाले मूल्य बढेको व्यापारी बताउँछन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार मात्रै कालीमाटी बजारमा एक हजार १६५ मेट्रिकटन तरकारी भित्रिएको छ । जबकि अघिल्ला दिनमा दैनिक सात/आठ सय मेट्रिकटनको हारहारीमा मात्रै भित्रिएको थियो । शनिबार भित्रिएको तरकारीमध्ये कालीमाटीमा प्याज मात्रै २६० मेट्रिक टन भित्रिएको छ भने आलु २२५ मेट्रिकटन तरकारी भित्रिएको छ र अरू अन्य तरकारी भित्रिएका हुन् । सो समितिका उपनिर्देशक विनय श्रेष्ठले तरकारीको आपूर्ति बढे पनि माग ह्वात्तै बढेकाले गोलभेँडा, आलु, काउलीलगायतका तरकारीको भाउ महँगो भएको बताए।

समितिको तथ्याङ्क अनुसार एक साताको बीचमा गोलभेँडा, काउली, गाँजर, मूला, सिमी, आलुलगायतका तरकारीको मूल्य ३५ देखि ५० प्रतिशतसम्म महँगो भएको छ । यस्तै पछिल्लो एक महिनामा गोलभेँडामा ३३३ प्रतिशतसम्म महँगो भएको छ । गएको फागुन १० गते प्रतिकेजी १२ रुपियाँ थोक मूल्यमा कारोबार भएको सानो गोलभेँडा चैत ९ गते बढेर थोकमै ५२ रुपियाँ पुगेको छ ।

यस्तै सो अवधिमा स्थानीय काउली प्रतिकेजी १५ रुपियाँमा थोकमा किनबेच भइरहेको थियो अहिले बढेर प्रतिकेजी थोकमै ३५ रुपियाँ पुगेको छ । त्यसैगरी सो अवधिमा ज्यापू काउली, भिण्डी, सिमीलगायत तरकारीको मूल्य महँगो भएको छ । समितिको तथ्याङ्क हेर्दा थोक बजारमा प्याज र सागपातबाहेक अन्य तरकारी महँगो भएको छ ।

समितिका अनुसार उपत्यकामा अहिलेसम्म तरकारीको आयातमा कुनै समस्या छैन । भारतबाट आउने तरकारी पनि निर्वाध आइरहेका छन् । कालीमाटीका थोक व्यापारी भने शुक्रबार प्रधानमन्त्रीको सम्बोधनपछि तरकारीको माग ह्वात्तै बढेकाले मूल्यमा चाप देखिए पनि यो अब धेरै नबढ्ने दाबी गरेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्