कोरोना प्रभाव : १२ कैदी हिरासतमुक्त



जनकपुरधाम : गत चैत ६ गते बिहीबार संघीय संसद (प्रतिनिधिसभा)को कानून, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले गम्भीर प्रकृतिको मुद्दा बाहेकका कैदी बन्दीहरुलाई हिरासतमुक्त गरेको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको जोखिम कम गर्न प्रहरी प्रशासनले कैदी बन्दीको संख्या घटाउन लागेको हो ।

कोरोनाभाइरसको संक्रमण भएमा अवस्था जटिल बन्न सक्ने भएकाले तत्कालै कैदीको संख्या घटाउन लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनले भने,‘सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न भन्दै सामान्य प्रकृतिको अपराधिक घटनामा संलग्न भएर प्रहरी हिरासतमा रहेका थुनुवालाई घर पठाउने तयारी थालेपछि हामीले सामान्य प्रकृतिका कैदी बन्दीहरुलाई रिहा गरेका हौं ।’ कोरोना संक्रमण भइसकेको अवस्थामा आइपर्ने जटिल अवस्थालाई मध्यनजर गरेर सामान्य प्रकृतिका अपराधमा संलग्नहरुलाई छाडिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका डीएसपी कार्कीले आइतवार सामान्य प्रकृतिका १२ जनालाई रिहा गरिएको जानकारी दिए । उनले सार्वजनिक मुद्दा, अभद्र व्यवहार, लागूऔषध लगायतको सामान्य प्रकृतिका घटनामा संलग्न भई हिरासतमा रहेका कैदीहरुलाई छाडिएको बताए ।

सोमवार समेत १० जना थुनुवालाई मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गरेर कानून बमोजिम हिरासतमुक्त गर्न लागिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय धनुषामा अहिले विभिन्न प्रकृतिका मुद्दाका ६० जना कैदी बन्दीहरु हिरासतमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्