नेपाल-भारत नाकामा सयौँ अलपत्र, उद्धार गरिएका केही व्यक्ति प्रशासनलाई ‘नटेरी’ हिँडे



काठमाडौं : सरकारले सोमवार बिहानदेखि लाग हुने गरी भारतसँगका नाकाबाट मानिसहरूको आवतजावत बन्द गर्ने निर्णय गरेपछि पूर्व र पश्चिमका सीमानाकामा अलपत्र परेका व्यक्तिहरूले उद्धारको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्।

आइतवार साँझ घोषणा गरेर सीमाना बन्द गरिएपछि देशभरका पूर्वदेखि पश्चिममा अवस्थित सीमानाकाहरूमा सयौँ मानिस अलपत्र परेको र उनीहरूले आफूलाई देशभित्र प्रवेश दिन माग गर्दै नाराबाजी गरेको हाम्रा संवाददाताहरूले जनाएका छन्।

नेपालगञ्ज नजिकैको जमुनाह नाकामा अलपत्र पाँच सयभन्दा बढी नेपालीलाई स्वास्थ्य जाँच गरी नगर बसमा राखेर महेन्द्र बहुमुखी क्याम्पसको भवनमा ल्याइएको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए।

उनीहरूमध्ये केही क्याम्पस भवनको पर्खाल नाघेर भागेका थिए।

अनिश्चितकालका लागि निषेधाज्ञा

बाँके प्रशासनले सम्बन्धित जिल्लाका व्यक्तिहरूलाई क्याम्पसमा केही समय राखेर सवारीसाधनको व्यवस्थासहित साँझ उनीहरूलाई गन्तव्यमा पठाउन थालिएको जनाएको छ।

बाँकेका प्रहरी नायब उपरीक्षक शिव सिंहले नाकाबाट ७२८ जनालाई उद्धार गरेर ल्याइएको र स्वास्थ्य जाँचपछि घर पठाउने क्रम लगभग सकिएको जानकारी दिए। आवतजावत रोक्ने निर्णय अब पूर्ण रूपमा कार्यान्वयन गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बीबीसँगको कुराकानीमा बताए।

अपराह्न आयोजित पत्रकार सम्मेलनमा खड्काले व्यवस्थापनमा कमजोरी भएको स्वीकार गर्दै मङ्गलवार अत्यावश्यक सेवाबाहेकका अरूलाई घर बाहिर ननिस्कन अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको बताए।

घर फर्कन पाउनुपर्ने मागसहित नाराबाजी

उता पूर्वी नेपालको सीमा मेची पुलमा अलपत्र परेका नेपालीहरूले नाकामै अड्किएर बस्नु परेपछि घर फर्कन पाउनुपर्ने माग राख्दै नाराबाजी गरेका छन्।

करिब डेढ सय जनाको सङ्ख्यामा मेची पुलमा रहेका नेपालीहरूलाई केन्द्र सरकारको निर्णयपछि मात्र नेपाल प्रवेश गर्ने दिइने झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए।

उनले भने, उनले भने, ‘सबै सीमानाकाको समस्या हो। मन्त्रीस्तरीय निर्णय पर्खिरहेका छौँ।’ नेपाल फर्कनेमा विशेष गरी भारतको बैँगलोर पढन गएका विद्यार्थीहरुको सङ्ख्या धेरै छ।

मन्त्रिपरिषद् बैठकले सोमवार बिहान १० बजेदेखि लागु हुने गरी सीमामा मानिसको आवतजावत बन्द गर्ने घोषणा गरे पनि नाकामा धेरै भिड देखिएको छ।

मेची पुलबाट सोमवार बिहान १,७४२ जना भारततिर गएका छन् भने अलपत्रबाहेक ३१५ जना नेपाल आएका अधिकारीहरूले जनाएका छन्। नेपालको प्रवेशद्वार मानिने पर्सास्थित वीरगन्ज(रक्सौल नाका एक घण्टा ढिलो ११ बजेदेखि मात्रै बन्द गरिएको थियो।

उक्त नाकामा दुवैतर्फ गरी करिब आठ सय मानिसहरू अलपत्र परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। भारततर्फको क्षेत्रमा करीब साढे ३ सय नेपाली दशगजा क्षेत्रको मितेरी पुलनजिकै अलपत्र अवस्थामा बसेको प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी गराए।

अभिलेख राखेर घर पठाउने निर्णय

भारतबाट नेपाल फर्किएका करिब २५० जना नेपाली सुनौली नाकामा नै रोकिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी हेमकुमार थापाका अनुसार सिमापारी रोकिएका नेपालीलाई नेपाल आउन दिनका लागि पहल भइरहेको छ।

उनीहरूको विस्तृत रूपमा स्वास्थ्य जाँच गरिनेछ र उनीहरू कहाँकहाँ जान्छन् भन्नेबारे सम्पूर्ण अभिलेख राखेर घर पठाइने थापाले बताए। साथै उनीहरूलाई घर पुगेर पनि क्वारन्टीनमा बसेको स्थानीय पालिकाहरूमार्फत् निगरानी राख्ने व्यवस्था गरिने पनि एसपी थापाले बताए।

सुनौलीबाट गएको दुई दिनमा मात्र करिब २१ हजार नेपाली नेपाल प्रवेश गरेका थिए।
अपराह्नबाट निषेधाज्ञा जारी गरिएको कञ्चनपुरमा अवस्थित गड्डाचौकी नाकामा पनि केही मानिस नेपाल प्रवेश गर्ने पर्खाइमा रहेको र गृह मन्त्रालयसँग समन्वय गरेर मात्रै त्यसबारे निर्णय गरिने त्यहाँका अधिकारीहरूले बताएका छन्।

कोरोनाभाइरसको सङ्क्रमण हुन नदिन सरकारले सीमा बन्दको आह्वान गरे पनि धेरै सर्वसाधारण बिहान १० बजे तोकिएको समयसीमा अगावै नाकासम्म पुग्न नसक्दा अलपत्र परेका थिए।

प्रतिक्रिया दिनुहोस्