भारतमा शल्यक्रिया गरेर आलै घाउ घर फर्केका बिरामी गड्डाचौकीमा १२ घन्टा अलपत्र



कञ्चनपुर : कञ्चनपुरको गड्डाचौकी नाकामा सोमबार मिर्मिरेमै आइपुगेका बिरामी १२ घन्टासम्म अलपत्र परे । मंगलबार बिहान भिडमा ६० वर्षीय बर्मा जोशी पनि भेटिए । पेट दुख्ने समस्या भएपछि भारतको सीतारगन्जस्थित पद्मा अस्पताल पुगेकी टीकापुर नगरपालिका–२ कैलालीकी उनको पित्तथैलीको अपरेसन भएको थियो । अस्पतालले अपरेसनको सात दिनमा सोमबार राति डिस्चार्ज गरिदिएपछि उनी आलै घाउ घर फर्किएका थिए । तर, नाका आइपुग्दा रोकिएपछि वृद्ध रातभर अलपत्र परे । उनी चउरमा पेट समाएर छटपटाइरहेका थिए । 

जोशीसँगै नाकामा रोकिँदा चउरमा छटपटाइरहेका थिए ठगु सार्की र राम खड्का पनि । कञ्चनपुरको बेदकोट नगरपालिका–६, सिसैयाकी ४५ वर्षीया सार्कीको पनि पदमा अस्पतालमै सात दिनअघि पाठेघरको अपरेसन भएको थियो । कञ्चनपुरकै भीमदत्त नगरपालिका–४, महेन्द्रनगरका ६१ वर्षीय राम खड्काको भने ८ दिनअघि पित्तथैलीको अपरेसन भएको थियो । 

भारतमा समेत लकडाउन भएकाले सोमबार राति अस्पतालले नै सवारीसाधन व्यवस्था गरेर गड्डाचौकी ल्याएर छाडिदिएको थियो । त्यहाँ १८ बिरामी र कुरुवासमेत गरी ३९ नेपाली थिए । बिरामी हुँदा देशमा उपचार नपाएर विदेश जानुपरेको, तर उपचार गरेर फर्किँदा देशमै प्रवेश नपाएको भन्दै कुरुवाहरूले विरोध गरेका थिए । १२ घन्टा अलपत्र परेपछि मंगलबार साँझ मात्रै उनीहरूलाई प्रवेश दिइएको छ । 

उता, स्वदेश फर्किँदै गरेका तीन सय नेपालीलाई भारतीय प्रहरीले सोमबार राति १ बजेदेखि मंगलबार दिनभर वनबासा जंगलमा थुन्यो । काखमा बालबच्चा च्यापेका सुत्केरीसमेत रातभर जंगलमै रोकिए । मंगलबार अपराह्न भने भारतीय प्रहरीले उनीहरूलाई लाठीले हान्दै वनबासाबाट नेपालतर्फ महाकाली नगरपालिकाको जंगलतिर धपाइदिएको थियो । साँझ सशस्त्र प्रहरीले सबैको उद्धार गरी गड्डाचौकी ल्याएर स्वास्थ्य जाँचपछि घर पठाएको छ । 

भारतीय प्रहरीले १२ घन्टा थुनेपछि लाठीले हानेर लखेटेको बझाङको थलरा गाउँपालिका–१ का हर्कराज भट्टले बताए । उनी भारतको फरिदवाद होटेलमा मजदुरी गर्थे । ‘हामीलाई भारतीय प्रहरीले रातभरि जंगलमा रोक्यो । भोकभोकै बस्यौँ । दिउँसो भने नेपाल सरकारको आदेश दिए छाडिदिन्छौँ भन्दै यताउता डुलायो,’ उनले भने, ‘दिउँसो १२ बजे एक्कासि लाठीचार्ज गर्दै धपायो ।’ गड्डाचौकीबाट भित्रिएका सबैलाई हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरेपछि प्रशासनले गाडी व्यवस्था गरिदिएर सेल्फ क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित घर पठाएको छ ।

पूर्वसूचनाविना देश लकडाउन भएपछि ५० डोल्पाली नेपालगन्जमा अलपत्र 

पूर्वसूचनाविना सरकारले लकडाउन घोषणा गरेपछि ५० डोल्पाली नेपालगन्जमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा ८० वर्षीया वृद्ध र १३ दिनकी सुत्केरीदेखि विद्यार्थीसम्म छन् । अधिकांश उपल्लो डोल्पाका छन् । जहाजको टिकट लिएर बसेकाहरूसमेत अलपत्र परेका छन् । आफूहरू राँझा विमानस्थलनजिक दुईवटा होटेल लिएर बसेको काइके गाउँपालिकाका जगबहादुर बुढामगरले बताए । थप एकसाता बस्नुपरे खर्च नपुग्ने गुनासो गरे ।

टिकट लिए पनि जहाज नउडेपछि अलपत्र परेको काइके गाउँपालिकाका वडाध्यक्ष राजु रोकायले बताए । दिल्लीबाट ९३ हजार ट्याक्सी भाडा तिरेर आएका तीनसहित २३ जनालाई पाँच घन्टा नाकामा रोकेपछि स्वास्थ्य जाँच गरेर क्वारेन्टाइनमा युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईबाट दिल्ली हुँदै आएका तीनसहित २३ जनालाई सिरहाको माडर खैरटो नाकामा पाँच घन्टा रोकेर मात्रै प्रवेश दिइएको छ । २० जना बैंग्लोर, अमदावाद र राजस्थानबाट आएका थिए । 

बिहान ७ बजेतिर आइपुगेका उनीहरूलाई साढे ११ बजे स्वास्थ्य परीक्षण गरेर नाका भिœयाइएको थियो । सबैलाई सीमानजिकै ब्रजमोहन झब्बुराम जनता माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा राखिएको छ । दुबईबाट आएकाहरूले दिल्लीदेखि नाकासम्म आउँदा ९३ हजार ट्याक्सी भाडा तिरेको बताए । भिसा सकिएपछि दुबईबाट भने कम्पनीले नै टिकट काटेर पठाइदिएको उनीहरूले बताए । उनीहरू सिरहा, खोटाङ र झापाका हुन् । 

त्यस्तै, बैंग्लोरबाट आएका चारजना नर्सिङका विद्यार्थीलाई पटनामा स्क्रिनिङ गरेर नेपाल आउन दिएको थियो । पटना रेल्वेमा स्क्रिनिङ गरेपछि उनीहरूको हातमा स्टाम्प लगाइएको छ । उनीहरू दुईजना मोरङ, उर्लाबारीका, अन्य दुई झापा सतासीधाम र पाँचथरका छन् । 

भोकभोकै जोगबनी नाका आइपुगेकालाई दिनभर रोकेर साँझ क्वारेन्टाइनमा

मोरङको जोगबनी नाकाबाट मंगलबार भित्रिएका ३२ सहित ४२ जनालाई मिक्लाजुङ गाउँपालिकाको टाँडीस्थित क्वारेन्टाइनमा पठाइएको छ । दिनभर नाकामा रोकिएका उनीहरूलाई साँझ ५ बजेपछि क्वारेन्टाइनमा पठाइएको हो । १० जना भने यसअघि नै भारतबाट आएर होटेलमा बस्दै आएका थिए । 

यस्तै, मंगलबार नेपालगन्ज नाका भएर ९६ नेपाली भित्रिएका छन् । बिहान रुपइडिहा पुगेकाहरू चोरबाटोबाट प्रवेश गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएर जमुनाहमा राखेको थियो । बेलुका सबैलाई घर पठाइएको बा“केका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । ‘नेपाली भएको परिचय खुल्ने कागजात हेरेर प्रवेश दिइएको छ,’ उनले भने, ‘सबैलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बस्ने सहमतिमा कागज गराइएको छ ।’

भारतबाट फर्किएकालाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने 

सीमामा अलपत्र परेका नेपालीलाई सरकारले मंगलबार आउन दिए पनि बुधबारदेखि रोक लगाउने निर्णय गरेको छ । भारतबाट आएकाले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले मंगलबार यस्तो निर्णय गरेको हो । 

सञ्चारमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार उनीहरूलाई प्रदेश तथा स्थानीय सरकारले समन्वय गरेर क्वारेन्टाइनमा राख्नेछन् । सरकारले गत आइतबारदेखि नै चीन र भारतसँगको सीमा बन्द गर्ने निर्णय गरेको थियो । सोमबार पनि केही नेपालीलाई प्रवेश गर्न दिइएको थियो । मंगलबार पनि सयौँ नेपाली देश फर्केका छन् ।

यसअघि भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखिएको छैन । राखिएका कतिपय पनि क्वारेन्टाइनबाटै भागेका थिए । मंगलबार प्रवेश गरेकालाई स्थानीय तहले सुरक्षा दिएर क्वारेन्टाइनमा राख्ने निर्णय भएको खतिवडाले बताए । भारतमा कोरोना संक्रमण बढेकाले त्यहाँबाट आउनेहरूबाट नेपालमा पनि संक्रमण फैलने जोखिम रहेको भन्दै सरकारले आइतबारदेखि सीमा बन्द गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा तेजराज भट्ट र मोहन विष्टले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्