कोरोना विशेष अस्पतालमा मृत्यु भएका यादवमा कोरोना नभएको पुष्टि



चितवन : हिजो (मंगलबार) भरतपुरस्थित कोरोना विशेगा अस्पतालमा मृत्यु भएका युवामा कोरोना नभएको पुष्टि भएको छ ।

वीरगन्ज घर भएका ३० वर्षीय सन्तोष यादवको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको थियो ।

कोरोना विशेष अस्थायी अस्पतालका चिकित्सक डा. भोजराज अधिकारीका अनुसार भरतपुर कोरोना विशेष अस्पतालमा उपचाररत यादवको कोरोना (कोभिड(१९) नभई ‘अटो इम्युन डिजिज’ का कारण मृत्यु भएको हो ।

उनका अनुसार टेकु प्रयोगशामा ‘थ्रोट स्वाब’ परीक्षण गर्दा कोरोना देखिएन । यादवको स्वाबको नमूना परीक्षणका लागि सोमबार नै काठमाडौंको टेकु अस्पतालमा पठाइएको थियो ।

यादव मृगौला, छाला र फोक्सोमा समस्या हुने ’लुपुस’ नामक रोगबाट लामो समयदेखि पीडित थिए । ज्वरो र निमोनिया देखिएपछि उनलाई वीरगञ्जबाट चितवन मेडिकल कलेज ल्याइएको थियो ।

कोरोनाको आशंकामा चितवन मेडिकल कलेजले आइतबार राति कोरोना विशेष अस्पतालमा रिफर गरेको थियो । उनको सोही अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्